प्रकाश काफ्ले/काठमाडौं । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका महावीर पुनले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गरेका छन्। उनले बिहीबार जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा खर्चको विवरण पेश गरेका हुन्। आयोगमा बुझाइएको विवरण अनुसार पुनले चुनावी अभियानका क्रममा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च गरेका छन्।
खर्च विवरणमा मनोनयन दर्ताका लागि १० हजार, मतदाता नामावली खरिदमा ३ हजार, प्रचारप्रसार सामग्रीमा २ लाख ९० हजार ५७५, यातायात तथा सवारी मर्मतमा ६ लाख ६० हजार ९९८, चालक ज्यालामा १ लाख ४० हजार, होटल बसाइ र खानपानमा १३ लाख ७ हजार ६१९, डिजेल खर्चमा ३ लाख ६० हजार ४९९, स्टेशनरी सामग्रीमा २५ हजार ३००, तथा अन्य विविध शीर्षकमा ७० हजार ८७७ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।
म्याग्दीमा भएको निर्वाचनमा पुनले २२ हजार ८५० मत प्राप्त गर्दै विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१२ मत ल्याएका थिए। यसरी पुनले १४ हजार ९३१ मतान्तरले जीत हासिल गरेका थिए।
निर्वाचन सम्पन्न भएको ३५ दिनभित्र सबै उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था रहेको छ।


