२०८३ असोज ७ गते बुधवार | 2026 September 23rd Wednesday

हाम्रो पार्टीको एउटा कसैको छोराले अड्डामा गएर जमिन पास गर्‍यो, उ चाहिँ प्रमुख दोषी ! – ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ललितानिवास प्रकरणमा भइरहेको अनुसन्धान सरकारको पोलिटिकल स्टन्ट मात्र भएको दाबी गर्नुभएको छ ।

ओलीले पार्टी उपाध्यक्ष विष्णु पौडेलको नाम नदिई उहाँका छोरालाई दोषी देखाउन खोजिएको भन्दै असन्तुष्टि समेत जनाउनुभयो । शुक्रबार स्ववियु काउन्सिलको बैठकलाई सम्बोधन गर्दै ओलीले ललिता निवास प्रकरणमा सरकारले भ्रष्टाचार विरोधी देखिन पोलिटिकल स्टन्ट बाहेक केही नगर्ने बताउनुभएको हो ।

‘ललितानिवासको प्रकरण निकालिएको छ, यो नाटक मात्र हो । आफूलाई हिरो देखाउन स्टन्ट मात्र हो’, उहाँले भन्नुभयो, ‘अरु केही गर्दैन यो सरकारले ।’ ‘गर्दा यो गठबन्धनकै मान्छेहरु पर्ने हुन्, त्यसैले गर्दैन’, पार्टी उपाध्यक्ष पौडेलतर्फ संकेत गर्दै ओलीले जग्गा खरिद गरे वापत दोषी देखाउन खोजेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको एउटा कसैको छोराले जमिन किनेको थियो अरे । कसैको छोराले जमिन किन्यो, धनिपूर्जा हेर्‍यो, अड्डामा गएर पास गर्‍यो । उ चाहिँ प्रमुख दोषी भन्न खोजिएको । यस्ता कुराहरुको कुनै अर्थ छैन ।’ एमालेले स्वच्छता, पारदर्शिता, कानूनीराज, लोकतान्त्रिक पद्धतीमा विश्वास गर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८० असार २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस