२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

उपभोक्ता समितिको साढे ६ लाख लुटेको आरोपमा वडाध्यक्ष पक्राउ

काठमाडौं । उपभोक्ता समितिको साढे छ लाख रुपैयाँ लुटेको आरोपमा वीरेन्द्रनगर नगरपालिका–३ का वडाध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन्।

वीरेन्द्रनगर–३ स्थित खोर्केखोला तटबन्ध निर्माण समितिले काम सकेर हिसाब–किताब गर्ने बेला वडाध्यक्ष विष्टसहित तीन जनाले रकम लुटपाट गरेको भन्दै बिहीबार प्रहरीमा जाहेरी दिएको थियो।

प्रहरीले शनिबार लुटपाटमा संलग्न रहेको आरोपमा सुशील गुरुङ र बलिराज शाहीलाई पक्राउ गरेको थियो। उनीहरुले रकम लुटपाट गरेको स्वीकार गर्नुका साथै वडाध्यक्षलाई दुई लाख रुपैयाँ दिएको बयान दिएका थिए। उक्त बयानका आधारमा प्रहरीले जिल्ला अदालतबाट पक्राउ पुर्जी ल्याएर आइतबार वीरेन्द्रनगर नगरपालिकाको कार्यालयबाट वडाध्यक्ष विष्टलाई पक्राउ गरेको हो।

विष्टलाई डाँका चोरी मुद्दा अन्तर्गत पक्राउ गरेर पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी लक्ष्मण शाहीले जानकारी दिनुभयो ।

‘उपभोक्ता समितिबाट लुटपाट गरिएको रकम मध्ये वडाध्यक्षलाई दुई लाख रुपैयाँ दिएको बयानपछि उनी पक्राउ परेका हुन्,’ डिएसपी शाहीले भन्नुभयो, ‘डाँका चोरी मुद्दामा पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गरेका छौं।’

प्रकाशित मिति : २०८० असार २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस