२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

ललिता निवास प्रकरण : कांग्रेस नेता गच्छदारले दिए सीआईबीलाई बयान

काठमाडौं । काठमाडौंको बालुवाटारस्थि ललिता निवासको १४७ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणको अनुसन्धानका क्रममा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्व उपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदारको बयान लिएको छ।

गच्छदार बयान दिनका लागि सोमबार साँझ सीआईबीको कार्यालय महाराजगञ्ज पुगेका थिए। गच्छदार माधव कुमार नेपाल नेतृत्वको सरकारमा भौतिक योजना तथा निर्माण मन्त्री थिए। नेपाल नेतृत्वको मन्त्रिपरिषद्‌ले बालुवाटारस्थित प्रधानमन्त्री निवास विस्तार गर्ने र बाहिरको जग्गा पर्खालभित्र पार्दा त्यहाँ रहेका मोहीलाई सट्टा भर्नामा जग्गा दिने निर्णय गरेको थियो।

गच्छदारले मोहीलाई सट्टा भर्ना दिनुपर्ने रायसहितको प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरेका थिए। गच्छदारका तत्कालीन राज्यमन्त्री सञ्जय साह (टकला) सँग पनि सीआईबीले बयान लिएको छ। सोही प्रकरणमा पूर्वमन्त्री चन्द्रदेव जोशीले पनि सोमबार सीआईबीमा पुगेर बयान दिएका छन्।

सरकारी जग्गा व्यक्तिको कायम गर्ने क्रममा सरकारी कागजात तथा दस्तखत किर्ते गरेको प्रकरणमा अनुसन्धान अगाडि बढाएको सीआईबीले पूर्वमन्त्रीहरु गच्छदार, जोशी, डम्बर श्रेष्ठ तथा पूर्व राज्यमन्त्री सञ्जय साहविरुद्ध पक्राउ उनुमति लिएको थियो। सीआईबीको आग्रहअनुसार अदालतले उनीहरुलाई पक्राउ गर्ने पूर्जी समेत जारी गरेको थियो। तर गच्छदार र जोशीले बयान दिए पनि उनीहरु पक्राउ भने परेरनन्। पूर्वमन्त्री श्रेष्ठ भने अहिलेसम्म सम्पर्कविहीन छन्।

 

प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस