२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

मोटरसाइकलमा आएकाहरूले गोली हानेका प्रिन्सिपल स्वर्णकारको हत्या

Principal Swarnakar was killed by those who came on a motorcycle

काठमाडौं । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ स्थित बाल एकता स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको गोली हानी हत्या भएको छ। ३९ वर्षीय स्वर्णकारको सोमबार दिउँसो गोली हानेर हत्या भएको हो।

दुइटा मोटरसाइकलमा आएका चार जनाको समूहले प्रिन्सिपल स्वर्णकारमाथि गोली हानेका थिए। खाजा (चाउमिन) लिएर स्कुल फर्कंदै गरेका बेला स्वर्णकारमाथि अज्ञात समूहले गोली चलाएका थिए।

घाँटी र टाउकोमा गोली लागेका स्वर्णकारको कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार गरी थप उपचारका लागि वीरगञ्ज लगिएको थियो। वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचारका क्रममा स्वर्णकारको सोमबार दिउँसो करिब २ बजेतिर मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले जानकारी दिए।

प्रिन्सिपल स्वर्णकारलाई गोली प्रहार गर्नेहरू भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएको र चारै जनाले हेलमेट लगाएर अनुहार ढाकेको कलैया उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष रामविश्वास ठाकुर लोहारले बताए। प्रिन्सिपल स्वर्णकार दिनहुँजसो खाजा लिन स्कुल नजिकैको बजार जाने गर्थे। ‘प्रिन्सिपल रूपेशजी आज पनि खाजा लिएर स्कुल फर्किंदै हुनुहुन्थ्यो। दुइटा मोटरसाइकलमा आएकाहरूले उहाँमाथि गोली हानेछन्,’ प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै वडाध्यक्ष लोहारले भने, ‘मोटरसाइकलको पछाडि रहेका एक जनाले केही राउण्ड गोली चलाएका थिए।’

 

प्रकाशित मिति : २०८० कार्तिक १३ गते सोमवार
प्रतिक्रिया दिनुहोस