२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

मुगुमा सामूहिक हत्या भएको आठ दिनपछि गरियो दाहसंस्कार

The cremation took place eight days after the mass killing in Mugu

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा सामूहिक हत्या गरिएका चारैजनाको शुक्रबार दाहसंस्कार गरिएको छ। हिन्दु परम्परागत अनुसार उनीहरुको दाहसंस्कार गरिएको हो। घटना भएको आठ दिन पछि मात्रै उनीहरुको दाहसंस्कार गरिएको छ। घटनाको कारण र हत्यारा प्रहरीले पत्ता नलगाएको भन्दै मृतकका आफन्तले शव बुझ्न मानेका थिएनन्।

छायानाथ रारा नगरपालिकाका प्रमुख विष्णुकुमार भामले मृतकका आफन्तलाई सम्झाइ बुझाइ गरेपछि दिपक बोहोरा शव बुझ्न र दाहसंस्कार गर्न सहमत भएका थिए। श्रीदेवी र ११ वर्षीय छोरा मनोजको शव जलाइएको छ भने ८ महिने छोरा रहर र ८ वर्षीया छोरी अप्सराको शव जमिनमा गाडिएको छ।

कात्तिक ८ गते बुधबार भएको घटनाको जानकारी प्रहरीले त्यसको दुई दिनपछि १० गते शुक्रबार बिहान मात्रै पाएको थियो। जानकारी पश्चात् घटनास्थल पुगेको प्रहरीले २८ वर्षीय श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीय छोरी अप्सरा र ८ महिनाका छोरा रहर बोहोरालाई घरभित्रै मृतअवस्थामा फेला पारेको थियो।

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा घर पुगेपछि सोही दिन प्रहरीले चारैजनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगु पुर्‍याएको थियो।

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस