२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

नाबालिग बलात्कार आरोप लागेका सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

Sandeep Lamichane

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको नाबालिग बलात्कारसम्बन्धी मुद्दा न्यायाधीश शिशिरराज ढकालले हेर्दाहेर्दैमा राखेका छन्। काठमाडौं जिल्ला अदालतमा अन्तिम बहसका लागि पेशी चढेको मुद्दामा बिहीबार लागि पेशी तोकिएको सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए।

जाहेरवाला पक्षको बहस नसकिएपछि न्यायाधीश ढकालले सन्दीप विरूद्धको मुद्दा हेर्दाहेर्दैमा राखेका हुन्। यसअघि मंसिर २४ गते न्यायाधीश पदम पाण्डेको इजलासमा पेशी तोकिए पनि सन्दीप लामिछाने पक्षका वकिलहरूले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो।

नाबालिग बलात्कार अभियोग लागेका लामिछानेविरूद्धको मुद्दामा पटक-पटक पेशी सर्दै आएको छ। अहिले भने अन्तिम सुनुवाइ भइरहेको हो। बहस सकिएपछि यस मुद्दाको फैसला आउनेछ। राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका सन्दीपविरूद्ध गत भदौ २१ गते एक किशोरीले जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।

प्रहरीमा जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा थिए। घटनापछि नेपाल क्रिकेट संघ ९क्यान० ले सन्दीपलाई निलम्बन गरेको थियो। वेस्ट इन्डिजमा रहेका सन्दीप नफर्केपछि नेपाल प्रहरीको आग्रहमा असोज १० गते इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो। इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका सन्दीप विमानस्थलबाटै पक्राउ परेका थिए।

मुद्दाको प्रारम्भिक सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। जिल्ला अदालतको आदेशविरूद्ध सन्दीपले उच्चमा पुनरावेदन दिएका थिए। पुस १८ गते उच्चले उनलाई २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो।

विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत शर्त राखेर उच्चले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उच्च अदालतको आदेशविरूद्ध महान्यायाधिवक्ताको कार्यालय र सन्दीप लामिछाने सर्वोच्च पुगेका थिए। क्रिकेट खेल्न विदेश जान पाउनुपर्ने मागसहित सन्दीपले फागुन १२ गते शुक्रबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। महान्यायाधिवक्ताको कार्यालयले सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग राखेको थियो।

सन्दीप र महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनबारे एकसाथ राखेर सुनुवाइ थालेको सर्वोच्चले फागुन १५ गते उच्च अदालत पाटनको आदेश केही उल्ट्याएर अर्को आदेश दियो। न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको इजलासले राष्ट्रिय खेलाडी भएको भन्दै सन्दीपलाई विदेश जाने अनुमति दिएको थियो।

 

प्रकाशित मिति : २०८० पुष ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस