२०८३ बैशाख ३ गते बिहिवार | 2026 April 16th Thursday

बंगलादेशलाई नेपालको १७० रनको सहज लक्ष्य

6 wickets out with captain Dev Khanal, Gulsan Jha against Bangladesh

काठमाडौं । आइसिसी यू-१९ विश्वकपअन्तर्गत सुपर-६ को खेलमा नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ। दक्षिण अफ्रिकाको माङगाउन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अलआउट भयो।

बंगलादेशविरूद्ध नेपालका मध्यक्रमका ब्याटर विशालविक्रम केसी अर्धशतक बनाउन चुके। ४८ रन बनाएर आठौं विकेटको रुपमा आउट भएका विशालले १०० बल खेल्दा ६ चौका प्रहार गरे। खराब सुरूवात गरेको नेपालले ९ ओभर चल्दा दुवै ‌ओपनरसहित तीन विकेट गुमाएको थियो भने २९ रन जोडेको थियो।

ओपनिङ ब्याटर विपिन रावल चौथो ओभरमा २ रनमा आउट भए। आठौं ओभरमा आकास त्रिपाठी ३ रनमा क्याच भए। लगत्तै अर्को ओभरमा ओपनर अर्जुन कुमाल १४ रनमा आउट हुँदा नेपाल सुरूमै संकटमा परेको थियो। अर्जुनले २६ बलमा २ चौका प्रहार गरे। त्यसपछि कप्तान देव खनाल र विशालले चौथो विकेटका लागि ६२ रनको साझेदारी गरे। २८औं ओभरमा आउट हुनुअघि देवले ६० बलमा ३ चौकाको मद्दतमा ३५ रन बनाए।

देव आउट भएपछि नेपालले लगातार विकेट गुमाएको थियो। गुल्सन झा, दिपक बोहरा र दिपेश कँडेल तीनै जना ३-३ रनमा आउट भएका थिए। यस्तै आकास चन्द पनि शून्यमै पेभिलियन फर्के। अन्तिमसम्म ब्याटिङ रहेका सुवास भण्डारीले नटआउट १८ रन जोडे। नेपालका लागि एक मात्र छक्का हिर्काएका दुर्गेश गुप्ताले अन्तिम विकेटको रुपमा आउट हुनुअघि ९ रन बनाए। बलिङमा बंगलादेशका रोहानत बोर्सनले ४ विकेट लिए। उनले ८.५ ओभरमा २ मेडन राख्दा १९ रन मात्र दिए। शेख जीवनले ३ विकेट लिए। शेखले १० ओभरमा २ मेडन राख्दा ३४ रन खर्चिए। सुपर-६ को शीर्ष दुईमा पर्दै सेमिफाइनल पुग्ने सम्भावना नेपालको यसअघि नै समाप्त भइसकेको छ। त्यसैले नेपालका लागि आज बंगलादेश र शुक्रबार भारतविरूद्धको खेल प्रतिष्ठाको लडाइँ हो।

 

प्रकाशित मिति : २०८० माघ १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस