२०८३ असार १४ गते आइतवार | 2026 June 28th Sunday

दुबईमा आफू कार्यरत कम्पनीको रकम चोरेर नेपाल पठाएका राईलाई एक वर्ष कैद

काठमाडौं । दुबईमा आफू कार्यरत कम्पनीको रकम चोरेर नेपाल पठाउने एक नेपाली सम्पत्ति शुद्धीकरणमा दोषी पाइएका छन्। दश वर्षअघिको घटनामा संलग्न समीर राईलाई विशेष अदालतले मंगलबार दोषी ठहर गर्दै एक वर्ष कैदका साथै जरिवाना हुने सजाय सुनाएको हो।

तीन वर्षअघि उनीविरुद्ध मुद्दा दायर भएको थियो। विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार सो मुद्दामा आंशिक ठहरको फैसला गरेको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ६ असोज ०७७ मा समीर र उनकी श्रीमती अम्बिका राईविरुद्ध विशेषमा मुद्दा दायर गरेको थियो।

वैदेशिक रोजगारीका सिलसिलामा दुबईमा रहँदा राई वर्ल्ड सेक्युरिटिजमा मनी ट्रान्सपोर्टरका रूपमा कार्यरत थिए। सन् २०१३ को अप्रिल ४ तारिखमा उनले आफू कार्यरत कम्पनीमा रकम चोरी भएको जानकारी गराएका थिए। कम्पनीले दिएको ६ लाख ३९ हजार ६ सय दिरामभन्दा बढी रकम चोरी भएको उनको दाबी थियो। तर, पछि उक्त रकम उनले नेपाल पठाएको भेटिएको थियो।

राईको पासपोर्ट उक्त कम्पनीसँगै रहेको थियो। घटनाको तीन दिनपछि जरुरी परेको भन्दै पासपोर्ट मागेर राई नेपाल फर्किएका थिए। २०१३ कै १५ अप्रिलमा दुबई प्रहरीले उक्त घटनाबारे नेपाल प्रहरीलाई जानकारी गराएको थियो। जसको आधारमा अनुसन्धान गरी मुद्दा चलाइएको हो

उनीविरुद्ध ९० लाख ५८ हजार रुपैयाँभन्दा बढी बिगो कायम भएको छ। उक्त रकम बिगोबापत भराउने र सोही रकमबराबर जरिवाना तिराउने फैसलामा उल्लेख छ। उल्लिखित रकमको वैध स्रोत खुलाउन नसक्दा उनमाथि कसुर कायम भएको हो। समीरकी पत्नी अम्बिकाले भने सफाइ पाएकी छिन्।

 

प्रकाशित मिति : २०८० माघ २० गते शनिवार
प्रतिक्रिया दिनुहोस