२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

गृहमा रविको प्रवेश लगत्तै सीआईबी प्रमुख एआईजी किरणलाई हटाउने तयारी

Kiran Bajracharya

काठमाडौं । सुन तस्करी सम्बन्धी अनुसन्धानमा लापरवाही गरेको भेटिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीकी प्रमुख एआर्इजी किरण बज्राचार्यलाई हटाउने तयारी भएको छ । संयोगपनि यस्तो बन्यो कि गृह मन्त्रालयमा रास्वपाका सभापति रवि लामिछानेको प्रवेश लगत्तै यस्तो हुन लागेको छ । अनुसन्धान गर्नु पर्ने व्यक्तिलाई जानेरै बचाउन खोजेको देखियो, आजै सीआईबीको जिम्मेवारीबाट हटाइने छ, गृह मन्त्रालय स्रोतले भन्यो, थप अनुसन्धान पछि कानून अनुसार कारबाही सुरु हुन्छ।

सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले गरेको अनुसन्धानका क्रममा ६० किलो सुन तस्करीको अनुसन्धानमा सीआईबीले गम्भिर लापरवाही गरेको उल्लेख गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताए । लामिछानेले भने जो माथि अनुसन्धान गर्नु पर्ने उनीहरुलाई अनुसन्धाननै नगरी भएका प्रमाण समेत नष्ट गर्न सीआइबीले भूमिका खेलेको देखियो । सुन तस्करी नाइके दावा छिरिङसँग सम्बन्ध देखिएका जीवन चलाउने र चलाउनेसँग सम्बन्ध देखिएका पूर्व प्रहरी प्रमुखहरुलाई जोगाउन सीआइबीका अधिकारीहरूले प्रमाण नष्ट गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । उपप्रधान तथा गृह मन्त्री लामिछानेका अनुसार राज्यका जिम्मेबार भूमिका बसेका व्यक्तिले तस्करीलाई संरक्षण गर्न खोजेको भेटिएको छ ।

सुन तस्करीमा सुरक्षा निकाय र राजनीतिक व्यक्तिहरुसँग सेटिङ मिलाएका देखिएको चलाउनेलाई अनुसन्धान अधिकारीहरुले नै भगाएको प्रमाण प्रतिवेदनमा उल्लेख गरिएको छ । तस्करले आफ्ना प्रमाण मेटाउन खोज्नु स्वभाविक हुन सक्छ तर प्रमाण खोज्नु पर्ने प्रहरीले सूचना समेत लुकाएर छानबिनलाई नै असहयोग गरेको छ, लामिछानेले भने कानूनी राज्यमा अब मनपरी चल्दैन । प्रतिवेदनमा सीआइबीका अन्य केहि अधिकारीहरुको समेत तस्करहरुसँग सम्बन्ध रहेको उल्लेख गरिएको छ । यस विषयमा प्रतिवेदन प्राप्त हुँदासाथ प्रहरी प्रमुखलाई जानकारी गराइ आवश्यक कारवाही अघि बढाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । अनुसन्धानबाट जोगिएकामाथि पुन अनुसन्धान हुन्छ, प्रमाण एक ठाउँबाट डिलिट गर्दैमा सबैतिर हराउँदैन, गृह मन्त्री लामिछानेले भने ।

 

प्रकाशित मिति : २०८० चैत्र २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस