२०८३ बैशाख ९ गते बुधवार | 2026 April 22nd Wednesday

प्रहरीलाई प्रभावमा पारेर अस्पतालमै बसिरहेका पूर्वमेयर शिवाकोटीलाई थुनामा पठाउन अदालतको आदेश

"Court Orders Former Mayor Shivakoti, Who Was Influencing Police and Staying in Hospital, to be Sent to Jail"

२२ पुस, झापा । घरेलु कामदारको रूपमा राखिएकी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेका बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटीलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, झापाका न्यायाधीश नवीनकुमार जोशीको इजलासले सोमबार शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

इलाका प्रहरी कार्यालय, अनारमनीले उनलाई २४ मंसिरमा पक्राउ गरेको थियो । एक महिनासम्म अनुसन्धान गरेर जिल्ला प्रहरी कार्यालय, झापाले केही दिनअघि रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय, झापाले अदालतमा मुलुकी अपराध संहिताअन्तरगतको जबरजस्ती करणीसम्बन्धी कसुर र बालबालिका ऐनविपरीतको कसुरमा मुद्दा दर्ता गराएको थियो । उनी भने प्रहरीलाई प्रभावमा पारेर विरामीको बहाना बनाउँदै अस्पतालमा बसिरहेका थिए ।

अदालतले थुनछेक बयान र बहसपछि शिवोकाटीलाई थुनामा पठाउने आदेश दिएको हो । तर, अदालतले शिवाकोटीको स्वास्थ्य स्थितिलाई भने ख्याल राख्न भनेको जिल्ला प्रहरी कार्यालय, झापाकी निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले बताइन् । उनले भनिन्, ‘त्यही अनुसार स्वास्थ्य उपचारका लागि उहाँलाई विएण्डसी अस्पताल पठाइएको छ ।’

पक्राउ परेदेखि पूर्वमेयर शिवाकोटी अस्पतालमा छन् । पूर्वी सीमा नाका काँकडभिट्टाबाट उद्दार गरिएकी १५ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । सीमा रहेर चेलिबेटी बेचबिखनविरुद्ध काम गरिरहेको संस्था किन नेपालले शंकास्पद लागेर बालिकालाई सोधपुछ गरेको थियो ।

त्यसक्रममा उनले आफू विर्तामोड नगरपालिकाका पूर्वमेयर शिवाकोटीको घरमा बस्ने गरेको तर, पटकपटक करणी भएपछि भागेर हिँडेको बताएकी थिइन् । कलेज ड्रेसमै रहेकी उनले शिवाकोटीबारे बताएपछि संस्थाले इलाका प्रहरी कार्यालय, धुलाबारी लगेको थियो । त्यहाँ महिला प्रहरीसँग पनि उनले त्यही अनुसारको बयान दिएपछि इलाका प्रहरी कार्यालय, अनारमनी पठाइएको थियो ।

बुबाआमा नभएका पीडितलाई घरको काम गरिदिने र पढाइदिने शर्तमा शिवाकोटीले घरेलु कामदारका रुपमा राखेका थिए । घरमा रहेका बेला आफूलाई करणी गरेको पीडितको प्रारम्भिक बयान थियो । त्यसपछि इलाका प्रहरी कार्यालय, अनारमनीले उनलाई पक्राउ गरेको थियो । शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।

 

प्रकाशित मिति : २०८१ पुष २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस