२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

रविविरुद्ध दिनेश त्रिपाठीको चर्को बहस: आफूमाथि हातपातलाई अदालतले बेवास्ता गरेकोमा आक्रोश

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रुपन्देही जिल्ला अदालतमापनि बहस गरेका छन् । उनले जाहेरीकर्ताको तर्फबाट बहसमा भाग लिएका हुन् ।

त्रिपाठीले यसअघि काठमाडौं जिल्ला अदालतमा पनि रविविरुद्ध बहस गरेका थिए । बहस सकेर निस्किँदा उनीमाथि हातपात भएको थियो । सो घटनामा तीजना पक्राउ समेत परेका छन् । त्रिपाठी बहसका लागि हिजै रुपन्देही पुगेका थिए । आज सरकारी वकिलहरुको बहस सकिएपछि उनले पालो पाएका हुन् । जाहेरीवालाका तर्फबाट अर्का वकिल सुरेन्द्र भण्डारीले बहस गर्ने छन् ।

आफ्नो बहसका क्रममा त्रिपाठीले रवि लामिछानेलाई थुनामा पठाउनैपर्ने माग गरे । स्रोतका अनुसार उनको बहसमा न्यायिक भन्दा राजनीतिक भाषा थियो । उनले सहकारी प्रकरणलाई राजनीतिको अपराधीकरणका रुपमा अथ्र्याए । ‘स्मार्ट ठगी’ को संज्ञा दिए । रविप्रति आक्रोश पोख्दै त्रिपाठीले भने, ‘प्रबन्ध सञ्चालक भनेको संस्थाको माइन्ड हो । सहकारीको पैसा उहाँकोमा आएको छ । तर उहाँले थाहा छैन भन्नु हुन्छ । यस्तो पनि हुन्छ ?’

त्रिपाठीले आफूमाथि भएको हातपातको प्रसंग पनि निकालेका थिए । रास्वपा कार्यकर्तातर्फ ईंगित गर्दै उनले न्यायिक प्रक्रियामा वाधा पुर्याउने काम भइरहेको आरोप लगाए । आफूमाथि हातपात भएको घटनामा काठमाडौं जिल्ला अदालत नबोलेको भन्दै गुनासो पोखे । ‘न्यायमा निरन्तर अवरोध गर्नुभएको छ । कहिले विज्ञप्ति निकालेको छ, कहिले सांसदहरु नै आन्दोलनमा उत्रेका छन् । न्यायाधीशको फोटोसहित प्रचार गरियो । बहस गर्ने वकिललाई गालीगलौज गरियो । काठमाडौंमा त मलाई आक्रमण नै भयो । तर आदेश गर्दा अदालतले नोटिसमै लिएन’, त्रिपाठीले आक्रोश पोखे ।

 

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस