काठमाडौं । बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक एवं रास्वपा सभापति रवि लामिछानेको संलग्नताको प्रमाण रहेको सरकारी वकिल र जाहेरकर्ताका वकिलले जिकिर गरेका छन् । उनीहरु अपराध हुन मनासय प्रधान हुँने र ‘रविको सहकारी ठग्ने मनासय देखिएको दाबी गरे । उनीहरुले भने बैक खातामा गैरकानूनी पैसा आउँदा प्रहरीलाई खबर गर्ने कि शेयर किन्ने ?
अझ प्रमाण नष्ट गर्ने खतरा रहेकोले लामिछानेलाई थुनामा पठाएर थप अनुसन्धान गर्नुपर्ने उनीहरूले जिकिर गरे । रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा बिहीबार भएको थुनछेक बहसमा सरकारी वकिलले सहकारीको पैसा रवि लामिछानेको खाता हुँदै गोर्खा मिडियामा पुगेको दाबी गरेका हुन् । जाहेरकर्ता सहकारी पीडितको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जनताको पैसा ठग्नका लागि नै गोर्खा मिडिया खोलिएको प्रमाणित भएको दाबी गरे ।
‘प्रतिवादी लामिछानेको व्यक्तिगत नाममा २ करोडसहित गोर्खा मिडियामा ११ करोड लगिएको प्रमाण पेश गरिएको छ, सहकारी ठग्ने मनासयले गोर्खा मिडिया खोलिएको देखियो’, त्रिपाठीले बहसका क्रममा भने, ‘कुनै कम्पनीको प्रबन्ध निर्देशकले पैसा कहाँबाट आयो भन्ने थाहा थिएन भनेर उन्मुक्ति पाउन मिल्छ ?’
त्रिपाठीले सहकारी ठगीको मुद्दा न्यायपालिकाका लागि पनि परीक्षणको विषय भएको जिकिर गरे । ‘खातामा पैसा आएको पनि थाहा थिएन भन्न मिल्छ ? खातामा गैरकानूनी पैसा आएको थाहा पाएपछि प्रहरीलाई खबर गर्ने कि मिडियाको शेयर किन्ने ?’ त्रिपाठीले प्रश्न गरे ।

