काठमाडौं । माण्डवी गाउँपालिका–२ रातापानीका ३४ वर्षीय पंकज परियारलाई प्रहरीले ६० वर्षीय रामबहादुर परियार र उनकी श्रीमती हुकुमाको हत्या आरोपमा पक्राउ गरेको छ। पंकज मृतक दम्पतीका दाइका छोरा हुन्।
जिल्ला प्रहरीका डीएसपी दिपेश बस्यालका अनुसार छिमेकीको खबरपछि अनुसन्धान थालेको प्रहरीले टाउकामा घनले प्रहार गरी विभत्स हत्या भएको पायो। घरबाट ५० मिटर टाढा रगत लतपतिएको घन फेला पर्यो। २४ घण्टाभित्र पंकज पक्राउ परे।
प्रहरीका अनुसार विवाह नगरेको भन्दै दम्पतीले ‘थारो’ भनेपछि इगोमा पंकजले हत्या गरेका हुन्। पहिलेदेखि नै उनीहरूबीच विवाद थियो। रक्सी खाएर ९ गते राति साढे १० बजे पंकजले झ्यालबाट छिरेर घनले दुवैको टाउकामा ३/३ पटक प्रहार गरेको बयान दिएका छन्।
प्रहरीले रगत लागेका कपडा र हुकुमाको पोटुकाबाट चोरेको २२० मध्ये २० रुपैयाँ बरामद गरेको छ। मृतकका चार छोरा भारतमा र तीन छोरी दाङमा छन्।

