२०८३ बैशाख ७ गते सोमवार | 2026 April 20th Monday

टिकटकमार्फत बालिकासँग प्रेम, गुपचुप दोब्बर ठूलो उमेरका विवाहित पुरुषले गरे विवाह

Marries, Young Girl, TikTok Romance

जनकपुरधाम । बालिकासँग गुपचुप विवाह गरेका विवाहित युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका– १ मोहनपुरका २८ वर्षीय दीपेन्द्र सदाय छन् ।

बाल विवाहसम्बन्धी उजुरी परेपछि सदायलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको हो । सिरहाका प्रहरी प्रवक्ता वीरेन्द्र पासवानले दीपेन्द्रलाई पक्राउ गरेको पुष्टि गरे । स्रोतका अनुसार १५ वर्षीया बालिकालाई पनि सोधपुछका लागि प्रहरीले नियन्त्रणमा राखेको छ ।

पक्राउ परेका दीपेन्द्रले नवराजपुर गाउँपालिका– १ भगवतीपुरकी १५ वर्षीया बालिकासँग गुपचुप विवाह गरेका थिए । फागुन १७ मा उनले विवाह गरेको बुझिएको छ । दीपेन्द्र विवाहित हुन् । उनका दुई सन्तान पनि छन्, तर टिकटकमार्फत प्रेममा फसाएर बालिकासँग दीपेन्द्रले चुपचुप विवाह गरेको बताइएको छ । दीपेन्द्रले बालिकासँग टिकटकमार्फत लभ परेको बयान प्रहरीसमक्ष दिएका छन् ।

उनले प्रलोभनमा पारी बालिकासँग चुपचुप विवाह गरेको भन्दै आवश्यक कारबाहीका लागि भगवतीपुरकै योगेन्द्र महारानको श्रीमती राजो देवीले फागुन १९ मा इलाका प्रहरी कार्यालय लहानमा जाहेरी दिएकी हुन् । प्रहरीमा परेको जाहेरीअनुसार दीपेन्द्रले भारतीय नम्बर प्लेटको मोटरसाइकलमा एक साथीलाई लिएर फागुन १७ गते राति करिब ९ बजे विवाह गर्न पुगेका थिए ।

कलिलो उमेरकै बालिकाको विवाह हुन लागेको थाहा पाएपछि स्थानीयले इलाका प्रहरी कार्यालय महेशपुर पतारीलाई खबर गरेका थिए । प्रहरी आउन लागेको सूचना पाएपछि दीपेन्द्र बालिका लिएर मोटरसाइकलमा फरार भएका थिए । पछि दीपेन्द्रले बालिकासँग विवाह गरेको भिडिओ टिकटकको विभिन्न आईडीबाट शेयर गरेपछि आवश्यक कारबाहीका लागि उजुरी दिएको राजो देवीले बताएकी छन् ।

दीपेन्द्रले विवाह गर्न पुगेको बेला बालिकाकी आमालाई छोरीको विवाहयोग्य उमेर नपुगी किन विवाह गराएको, छोरीको भन्दा दोब्बर उमेरका मानिससँग जबरजस्ती विवाह गराइदिन लागेको हो भनी सोध्दा जवाफ नदिएको पनि उजुरीमा उल्लेख छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस