२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

भक्तपुरमा १५ वर्षअघि ट्याक्सी चालकको विभत्स हत्या: भारतमा लुकेका अभियुक्त यसरी पक्राउ परे

काठमाडौँ । भक्तपुरको नरेफाँटमा १५ वर्षअघि ट्याक्सी चालक मेघ लामाको हत्या गरी फरार रहेका ३७ वर्षीय बाबु तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई भारतको चेन्नईबाट पक्राउ गरी नेपाल ल्याइएको हो, जहाँ उनी पछिल्लो समय होस्टलमा कुकको रूपमा काम गर्दै आएका थिए।

२०६६ मंसिर २५ गते राति ठमेलबाट कोटेश्वर जान भन्दै चार जनाको समूहले मेघ लामाको ट्याक्सी बुक गरेको थियो। सानोबुवा नाता पर्ने विनोद लामा समेत ट्याक्सीमा भएकाले मेघले सहजै स्वीकारे। तर, नरेफाँट पुग्नेबित्तिकै घाँटी मफलरले कसेर हत्या गरियो। हत्यापछि चालकको २५ हजार रुपैयाँ लुटेर उनीहरू फरार भएका थिए। हत्यामा संलग्न विनोद लामा र श्याम तामाङ केही समयमै पक्राउ परे तर बाबु तामाङ र वीरमान सिंह भुलन फरार रहे। बाबु तामाङ चेन्नईमा परिवारसँग लुकेर बसेका थिए।

२०७८ भदौ ३ गते भक्तपुर अदालतले चारै अभियुक्तलाई २० वर्ष कैदको फैसला सुनाएको थियो। यसअघि ९ फागुनमा हत्यामा संलग्न वीरमान सिंह पक्राउ परिसकेका छन्। आज सार्वजनिक बिदा परेकाले बाबु तामाङलाई भोलि अदालत पेश गरी जेल चलान गरिने प्रहरीको भनाइ छ।

प्रकाशित मिति : २०८१ फाल्गुन २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस