काठमाडौं । तीनकुने घटनामा मृत्यु भएका सविन महर्जन र पत्रकार सुरेश रजकको पोस्टमार्टम रोकिएको छ। परिवारले शहीद घोषणा र क्षतिपूर्तिको माग राख्दै पोस्टमार्टममा असहमति जनाएका छन्।
शुक्रवार प्रहरी र प्रदर्शनकारीबीचको झडपमा महर्जनको देब्रे छातीमा गोली लाग्दा मृत्यु भएको थियो। उनी सुमो चालक थिए। परिवारका अनुसार उनी गाडी मर्मत गर्न घरबाट निस्किएका थिए तर झडपमा परी मृत्यु भयो।
पत्रकार सुरेश रजक भने झडपको दृश्य कैद गर्न जलिरहेको घरभित्र प्रवेश गर्दा आगलागीमा परे । उनको शरीर पहिचान गर्नै नसकिनेगरी जलेको थियो। दुवै शव हाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा राखिएको छ। पोस्टमार्टम ढिलो हुँदा मृत्युको कारण पहिचान गर्न कठिनाइ हुनसक्ने चिकित्सकहरू बताउँछन्। प्रहरीका अनुसार कानुनी प्रक्रिया पूरा भएपछि मात्र पोस्टमार्टम गरिनेछ।
प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार

