काठमाडौं । भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’ मा पोस्ट गर्दै यो ऐतिहासिक सहमतिबारे घोषणा गरेका हुन्।
“संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा लामो समयको वार्तापछि, म यो घोषणा गर्न पाउँदा खुसी छु कि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन्,” ट्रम्पले लेखे।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि पुष्टि गर्दै भने, “भारत र पाकिस्तानले युद्धविराम गर्ने र तटस्थ स्थानमा व्यापक मुद्दाहरूमा छलफल सुरु गर्ने सहमति गरेका छन्।”
यसैबीच, पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले पनि युद्धविरामको पुष्टि गर्दै सामाजिक सञ्जालमा लेखे, “पाकिस्तान र भारतले तत्काल लागू हुने गरी युद्धविराममा सहमति जनाएका छन्। पाकिस्तानले सधैं शान्ति चाहेको हो, तर सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा कुनै सम्झौता गर्न सक्दैन।”
भारतीय विदेश सचिव विक्रम मिश्रीले पनि दुवै देश तयार रहेको पुष्टि गर्दै ५ बजेदेखि जमिन, आकाश र समुद्री क्षेत्रमा युद्धविराम लागू भएको जानकारी दिए। साथै, दुबै देशका DGMO ले यही वैशाख २९ गते (मे १२) दिउँसो १२ बजे औपचारिक वार्ता गर्नेछन्।
युद्धपछिको अवस्थाबारे भारतको स्पष्टीकरण
यसअघि शनिबार बिहान १०:३० बजे भारतीय विदेश तथा रक्षा मन्त्रालयले संयुक्त पत्रकार सम्मेलनमा हालको अवस्थाको जानकारी दिएको थियो।
कर्नेल सोफिया कुरेशीले पत्रकार सम्मेलनमा बताइन् कि, “पाकिस्तानले जम्मू-कश्मीरको उधमपुर, पञ्जाबको पठानकोट, आदमपुर र गुजरातको भुज एयरबेसमा उच्च गतिको मिसाइलले आक्रमण गर्ने प्रयास गर्यो, जसले हामीलाई केही क्षति पुर्यायो।”
उनका अनुसार पाकिस्तानले अस्पताल र विद्यालयहरूमा हमला गर्ने प्रयास पनि गरेको थियो, तर भारतले ती प्रयास विफल पारेको हो। उनले भने, “ब्राह्मोस सुविधा नष्ट भएको दाबी पूर्णतः गलत छ। भारतीय S-400 प्रणाली सुरक्षित छ।”
संयुक्त पत्रकार सम्मेलनमा विङ कमाण्डर व्योमिका सिंह र विदेश सचिव विक्रम मिश्री पनि उपस्थित थिए। आज फेरि अर्को पत्रकार सम्मेलन आयोजना गरिनेछ।

