२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

नवविवाहित युवतीको शंकास्पद मृत्युबारे बोल्यो माइती पक्ष

काठमाडौं । रौतहटको कटहरिया नगरपालिकामा विवाह भएको ६ महिना नपुग्दै एक युवतीको शंकास्पद मृत्यु भएको छ।

२१ वर्षीया सानिया प्रविन आइतबार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी हुन्। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको जनाएको छ।

सानियाकी आमा कायमा खातुनका अनुसार छोरीलाई दाइजोको कारण निरन्तर शारीरिक तथा मानसिक यातना दिइएको थियो। उनले सानियाको हत्या गरी आत्महत्या देखाउन खोजिएको आरोप लगाएकी छन्।

माइती पक्षले घटनाको छानबिन गरी संलग्न सबैलाई पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ।

ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले घटनाको अनुसन्धान जारी रहेको र निष्कर्षपछि कानुनी प्रक्रिया अघि बढाइने बताएका छन्।

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस