काठमाडौं । भारतको केदारनाथमा बिरामी उद्धार गर्न आएको सञ्जीवनी हेलिकप्टर एम्बुलेन्स आपत्कालीन अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको छ। शनिबार केदारनाथ हेलिप्याडमा अवतरण गर्दा हेलिकप्टरको पछाडिको भाग भाँचिएको थियो।
दुर्घटनाको समयमा एम्स ऋषिकेशबाट आएको दुई सदस्यीय मेडिकल टोली हेलिकप्टरमा सवार थिए। बीबीसीका अनुसार पाइलट र मेडिकल टोली सबै सुरक्षित छन्।
जिल्ला पर्यटन विकास अधिकारी राहुल चौबेका अनुसार, केदारनाथमा दर्शन गर्न आएकी एक महिलालाई सास फेर्न गाह्रो भएपछि राज्य सरकारको सञ्जीवनी हेलिकप्टर सेवा सहयोगमा प्रयोग गरिएको थियो।
उनका अनुसार, “हेलिप्याडमा अवतरण गर्ने बेला प्राविधिक समस्या देखिएपछि पाइलटले हेलिप्याडभन्दा अगाडि समतल ठाउँमा आपत्कालीन अवतरण गरे। अवतरणको क्रममा हेलिकप्टरको पुच्छर रोटर भाँचियो।”
राहुल चौबेले पाइलटको सजगता र बुद्धिमत्ताका कारण सबै यात्रु सुरक्षित रहेको बताए। प्राविधिक अनुसन्धान डीजीसीएले गर्नेछ र त्यसपछि मात्रै थप जानकारी उपलब्ध हुनेछ।

