काठमाडौं । चर्चित पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराध (विद्युतीय कारोबार ऐन) अन्तर्गत पक्राउ पुर्जी जारी गरिएको पुष्टि भएको छ। प्रहरीको एक उच्च स्रोतका अनुसार, काठमाडौँ जिल्ला अदालतबाट अनुमति लिएर साइबर ब्युरोले पक्राउ पुर्जी जारी गरेको हो। तर, हालसम्म उजुरीकर्ता को हो र ठ्याक्कै कुन सामग्रीलाई आधार मानेर उजुरी दर्ता गरियो भन्नेबारे स्पष्ट जानकारी आएको छैन।
“पाठकविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको छ, तर विस्तृत अनुसन्धान अझै जारी छ,” स्रोतले बतायो।
विवादको पृष्ठभूमि
तीन हप्ता अगाडि पत्रकार पाठकले आफ्नो युट्युब च्यानलमार्फत हिल्टन होटलको शेयर खरिद–बिक्रीसँग सम्बन्धित विषयमा एउटा भिडियो सार्वजनिक गरेका थिए। उक्त सामग्रीमा उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा, र तिनका छोरा जयवीर सिंह देउवासँग सम्बन्धित विदेशी रियल स्टेट कारोबार, र हिल्टन होटलमा संलग्नता भएको दाबी गरेका थिए। त्यसमा उनले जयवीरको सम्पत्तिसम्बन्धी प्रश्न पनि उठाएका थिए।
शंकर ग्रुपको प्रतिवाद
यो सामग्री बाहिरिएपछि शंकर ग्रुपले वैशाख २१ गते प्रेस विज्ञप्ति जारी गर्दै भिडियोमा उल्लेखित सबै दावीहरूलाई “भ्रामक र आधारहीन” बताएको थियो। समूहले पत्रकार पाठकविरुद्ध “कानुनी प्रक्रिया अघि बढाउने” चेतावनी समेत दिएको थियो।
विज्ञप्तिमा भनिएको थियो:
“राजनीतिक व्यक्ति र व्यवसायिक घरानाको नाम जोडेर नहुनु भएको विषय सार्वजनिक गरिनु व्यवसायको प्रतिष्ठा र व्यक्तित्वको चरित्रहत्या गर्ने कार्य हो। प्रचलित कानुनअनुसार कारबाही गरिनेछ।
हाल पाठकविरुद्ध पक्राउ पुर्जी जारी भए पनि उनलाई पक्राउ गरिएको छैन। यस घटनाले सञ्चार स्वतन्त्रता र उत्तरदायित्वबीचको सन्तुलन माथि पुनः बहस सिर्जना गरेको छ।

