काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध भ्रम फैलाएको आरोपमा अधिवक्ता तथा राजावादी आन्दोलनका प्रवक्ता स्वागत नेपाललाई साइबर ब्युरोले पक्राउ गर्ने तयारी गरेको छ।
साइबर ब्युरोका अधिकारीहरूले सोमबार फोनमार्फत नेपाललाई आफैं उपस्थित हुन अनुरोध गरेका छन्। नेपालका अनुसार प्रहरीले भाइटीका लगाउनुस् न त भनेर तिहारको सन्दर्भमा कुरा गरेका थिए। नेपालले भनेका छन्, ‘दिदीबहिनीको हातबाट भाइटीका लगाउन दिनुहुन्छ भने लगाउँछु, आज लक्ष्मीपूजा छ गर्छु, तर आउनुपर्छ भने आउँछु।’ प्रहरी अधिकारीले उनलाई तिहार मनाउन सुझाव दिएका थिए।
अधिवक्ता नेपालले नेपालको संविधान अनुसार पूर्व प्रधानन्यायाधीश भैसकेको व्यक्ति प्रधानमन्त्रीजस्तो कार्यकारी हैसियतमा बस्न नहुने बताउँदै आएका छन्। उनले भनेका छन्, ‘आफ्नै विज्ञप्ति र निर्णयविपरित उहाँ सांसदबाट पूर्व प्रधानन्यायाधीश भएर पनि प्रधानमन्त्री बन्नुभयो संविधानबाहिरबाट। यो संसारकै अनैतिकता हो।’
उनका अनुसार संविधानविपरित कार्य हुँदा नैतिकताको प्रश्न यसअघि पनि सबै दलका प्रधानमन्त्री हुँदा उठाएका थिए र त्यसकै कारण आफू पक्राउ परेको बताउँदै, ‘जब नागरिकले जायज माग उठाउँछन्, सुधार गर्नुको सट्टा निरङ्कुशता लाद्ने प्रयास हुन्छ, त्यसैले प्रतिवाद चर्किएको हो,’ उनले बताएका छन्।
त्यस्तै उनले प्रधानमन्त्री सुशीला कार्कीले १० करोड घुसको प्रसङ्ग सार्वजनिक गरेको विषय फेरि पनि उठाउने बताएका छन्।
नेपालको संविधानको धारा ७६ ले गैरसांसदलाई प्रधानमन्त्री बन्ने अधिकार नदिएको उल्लेख छ। त्यसैगरी धारा १३२ (२) मा स्पष्ट रूपमा भनिएको छ — ‘प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्ति यस संविधानमा अन्यथा उल्लेख भएकोमा बाहेक कुनै पनि सरकारी पदमा नियुक्तिका लागि ग्राह्य हुने छैन।’
पेसाले अधिवक्ता रहेका स्वागत नेपाल राजावादी आन्दोलनका प्रवक्ता हुन्। यसअघि, १५ चैतमा पनि सोही आन्दोलनका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

