२०८२ माघ २६ गते आइतवार | 2026 February 8th Sunday

होस्टेलका ती पल जसलाई अभिनेत्री रिमाले अझैं भूलाउन सकेकी छैनन्

काठमाडौं । अभिनेत्री रिमा विश्वकर्माले आफ्नो तिहार अनुभव साझा गर्दै होस्टेलदेखि परिवारसम्मको चाडपर्व सम्झनाहरू उजागर गरिन्। उनले नर्सरीदेखि १० कक्षासम्म होस्टेलमा बसेर भाइटीका र देउसी भैलो मनाएको सम्झना सुनाइन्।

विश्वकर्माले भनिन्, ‘होस्टेलमा हामीले भाइटीकाको दिन यति धेरै मण्डप बनाउनुपर्ने हुन्थ्यो कि हेर्दै आनन्द आउँथ्यो। ठूलो समूहमा बसेर तिहार मनाएको अनुभव अझै एकदमै यादगार छ।’ उनले आफ्नो परिवार ‘मिक्स रिलिजन’ भएको बताउँदै, आफूले सबै तयारी आफैं गर्नुपरेको अनुभव पनि साझा गरिन्।

सानैदेखि नाचगानमा रमाउने रिमा भन्छिन्, ‘देउसी भैलोमा मेरो नाम कहिल्यै छुट्दैनथ्यो। मण्डप बनाउने काम मलाई धेरै मनपर्थ्यो।’ होस्टेलमा जुनियर विद्यार्थीहरू रातमा निस्कन पाउँदैनथे, तर उनी सधैं सहभागी भइन्।

उनी थप्छिन्, ‘सानो हुँदा नाचिन्थ्यो मात्र, तर ठूलो भएपछि साना भाइबहिनीलाई हाम्रो संस्कृति नबिर्सियोस् भनेर उत्साहित गर्न र भट्याउने निर्देशन दिन्छु।’

उनले धर्मको सिमितताको सट्टा चाडपर्वलाई संस्कृति र सामाजिक सम्बन्धको रूपमा मनाउन आवश्यक रहेकोमा जोड दिइन्।

प्रकाशित मिति : २०८२ कार्तिक ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस