२०८२ कार्तिक २० गते बुधवार | 2025 November 5th Wednesday

चर्चित अभिनेत्री वर्षाको हातमा देखियो रहस्यमयी दाग, हंगामापछि दिइन् यस्तो जवाफ

काठमाडौँ। अभिनेत्री वर्षा राउतले आफ्नो हातमा देखिएका दागबारे मिडियामा आएका टिप्पणी र हेडलाइनप्रति प्रष्टिकरण दिएकी छन्।

फिल्म ‘हर्ष’को ट्रेलर सार्वजनिक कार्यक्रममा उनका हातमा दाग देखिएपछि मिडिया र सामाजिक सञ्जालमा विभिन्न टिप्पणीहरू आएका थिए। त्यसपछि उनले बुधबार राति फेसबुक स्टाटसमार्फत् प्रतिक्रिया दिएकी हुन्।

राउतले लेखेकी छन्, “आज बनेका धेरै हेडलाइनहरूले मेरो हातमा लागेको दागलाई पूर्ण रूपमा भ्रामक तरिकाले प्रस्तुत गरेका छन्। यी दागहरू १०–१५ वर्ष पुराना हुन्, जसका फोटोहरू अझै पनि मेरो प्रोफाइलमा छन्।”

उनले मिडिया र दर्शकलाई व्यक्तिगत जीवनबारे अनुमान नगर्न आग्रह गरेकी छन्। फिल्मभन्दा व्यक्तिगत विषयमा बढी टिप्पणी भइरहेका कारण आफू दुःखित भएको उनले उल्लेख गरेकी छन्।

राउतले थपेकी छन्, “मिडियामा बोल्न कहिलेकाहीँ डर लाग्छ, किनभने सरल मनले बोलेको कुरा पनि गलत अर्थमा लिइन्छ र व्यक्तिगत जीवनसँग जोडिन्छ। त्यसैले म बोल्नुअघि सयपटक सोच्न थालेकी छु।”

‘हर्ष’ ट्रेलर रिलिज कार्यक्रममा व्यक्तिगत प्रश्नहरूमा मौन रहने निर्णय गरेको बताउँदै उनले भनेकी छन्, “कतिपय कुरामा मौन रहनु नै सबैभन्दा राम्रो उत्तर हुन्छ।”

अन्त्यमा उनले कलाकारको पहिचान उसको काम, मिहेनत र सिर्जनात्मकता हो भन्दै व्यक्तिगत जीवनका अनुमान नगर्न अनुरोध गरेकी छन्। हाल केही समयदेखि वर्षाको वैवाहिक जीवनलाई लिएर मिडियामा चर्चा भइरहेको छ, तर उनले यस स्टाटसमार्फत कलाकारितामै केन्द्रित हुने संकेत गरेकी छन्।

प्रकाशित मिति : २०८२ कार्तिक २० गते बुधवार
प्रतिक्रिया दिनुहोस