२०८२ माघ २४ गते शुक्रवार | 2026 February 6th Friday

को हुन् २५ वर्ष जे`ल सजाय पाएका प्रमोद ढकाल? बेलायतमा चलेको मुद्दाले हलचल

काठमाडौं। काठमाडौंका मूल निवासी तथा पछिल्लो समय बेलायतको पीटरबरो क्षेत्रमा बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई १९ वर्षभन्दा लामो समयसम्म सात जना बालिका र एक जना महिलामाथि पटक-पटक बलात्कार तथा यौन शोषण गरेको अभियोगमा २५ वर्षको जेल सजाय सुनाइएको छ।

सन् २०२३ नोभेम्बरमा एक जना पीडितले आफ्नो परिवारसँग गोप्य कुरा खोलेपछि ढकाल पक्राउ परेका थिए। त्यसपछि थप सात जना पीडित अगाडि आए।

पीडितमध्ये एक जनाबाहेक सबै दुर्व्यवहार हुँदा बालबालिका थिए; सबैभन्दा सानी पीडितको उमेर जम्मा ८ वर्ष थियो। सात जना पीडित क्याम्ब्रिजशायरका र एक जना लन्डनकी थिइन्। धेरै पीडितले विश्वास नगर्ने डरले लामो समयसम्म मुख खोलेका थिएनन्।

ढकालले सबै आरोप अस्वीकार गरे र मुद्दा पूर्ण सुनुवाइमा पुग्यो। सन् २०२५ सेप्टेम्बरमा क्याम्ब्रिज क्राउन कोर्टमा २० दिन चलेको मुद्दामा जूरीले तीन घण्टाभन्दा कम समय छलफल गरेर २५ वटै अभियोगमा सर्वसम्मत रूपमा दोषी ठहर गर्‍यो। अभियोगहरूमा देहाय समावेश थिए:

– १६ वर्षमुनिकी बालिकामाथि यौन दुर्व्यवहारका १५ अभियोग
– १६ वर्षमुनिकी बालिकामाथि बलात्कारका ७ अभियोग (१३ वर्षमुनिकीमाथि ५ र १३–१५ वर्षकीमाथि २)
– बालबालिकालाई यौन गतिविधिमा उक्साउने वा संलग्न गराउने ३ अभियोग

डिसेम्बर १, २०२५ (सोमबार) मा न्यायाधीश मार्क बिशपले ढकाललाई २५ वर्ष कैद र थप ८ वर्ष ‘विस्तारित लाइसेन्स अवधि’ (रिहा भए पनि कडा निगरानी) को सजाय सुनाए। उनलाई आजीवन यौन अपराधी दर्तामा राखिएको छ र आफ्ना आठै पीडितसँग कहिल्यै सम्पर्क गर्न नपाउने गरी अनिश्चितकालीन प्रतिबन्ध आदेश जारी गरिएको छ।

अनुसन्धान अधिकृत डिटेक्टिभ कन्स्टेबल फिलिपा मालेटले भनिन्:
“जतिसुकै समयअघि दुर्व्यवहार भएको किन नहोस्, हामी यस्ता उजुरीलाई अत्यन्त गम्भीरताका साथ लिन्छौं। यो नतिजाले पीडितहरूलाई केही राहत मिलोस् र थप बालबालिकालाई शोषण हुनबाट जोगाउन उहाँहरूले देखाउनुभएको साहसको म प्रशंसा गर्छु।”

पीटरबरो नेपाली समाजका पूर्वअध्यक्ष महेश अधिकारीले ढकाल समाजको सदस्य नभएको र कुनै पनि सामुदायिक गतिविधिमा संलग्न नरहेको पुष्टि गरे। ढकाल पछिल्ला केही वर्षदेखि पीटरबरोमै रेस्टुरेन्ट व्यवसाय गर्दै आएका थिए र बेलायतमा यसअघि कुनै आपराधिक रेकर्ड थिएन।

प्रकाशित मिति : २०८२ मङ्सिर १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस