२०८२ चैत्र १३ गते शुक्रवार | 2026 March 27th Friday

डा. बाबुराम भट्टराईको आक्रोश: “नेतृत्वले आत्मसमीक्षा गर्ने कि कार्यकर्तालाई डण्डा चलाउने?”

प्रकाश काफ्ले/काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले हालै सम्पन्न आमनिर्वाचनको परिणामपछि नेपालका कम्युनिष्ट नेताहरूको कडा आलोचना गर्नुभएको छ। शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उहाँले निर्वाचनमा व्यहोरेको लज्जास्पद हारपछि नेतृत्वले “छानीछानी कारवाही गर्छु” भन्नु विडम्बनापूर्ण भएको टिप्पणी गर्नुभएको छ।

द्वन्द्वात्मक भौतिकवादको विस्मृति

मार्क्सदेखि माओसम्मले संश्लेषण गरेको भौतिकवादी द्वन्द्ववादको चर्चा गर्दै भट्टराईले कुनै पनि घटनाको प्रधान कारण “आफैँभित्र” हुने उल्लेख गर्नुभयो। उहाँले प्रश्न गर्नुभयो— “के बाह्य पक्षले मात्र सहायक भूमिका खेल्छ भन्ने सिद्धान्त बिर्सिएको हो?” नेताहरूले हारको दोष वैदेशिक षड्यन्त्र वा तल्लो तहका कार्यकर्तालाई दिएर आफ्नो असफलता ढाकछोप गर्न खोजेको उहाँको आरोप छ।

दुई तिहाइबाट २२ प्रतिशतमा झरेको विरासत

डा. भट्टराईले तथ्याङ्क प्रस्तुत गर्दै २०७४ सालमा झण्डै दुई तिहाइ रहेको कम्युनिष्ट जनमत २०८२ सम्म आइपुग्दा २२ प्रतिशतमा झर्नुको मुख्य जिम्मेवार मूल नेतृत्व नै हुनुपर्ने जिकिर गर्नुभयो। “चोर औंला अरूमाथि ठड्याउँदा बाँकी औंलाहरू आफैतिर फर्कन्छन् भन्ने पनि हेक्का राख्ने कि?” भन्दै उहाँले नेतृत्वलाई ऐना हेर्न सुझाव दिनुभएको छ।

रूस र पश्चिम बंगालको नियति दोहोरिने चेतावनी

नेपाली कम्युनिष्ट आन्दोलन अहिले गम्भीर मोडमा रहेको बताउँदै उहाँले यदि नयाँ विचार, नीति र संगठनसहित रूपान्तरण नहुने हो भने नेपालमा पनि रूस, पूर्वी युरोप र पश्चिम बंगालको जस्तै हालत हुने चेतावनी दिनुभयो। उहाँले बदलिएको विश्व र राष्ट्रिय परिस्थिति अनुरूप समग्र आन्दोलनलाई नयाँ ढंगले पुनर्गठन गर्न ढिला भइसकेको उल्लेख गर्नुभएको छ।

प्रकाशित मिति : २०८२ चैत्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस