प्रकाश काफ्ले/काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर प्रमुख विपक्षी दलका नेताहरूले सरकारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले सरकार प्रतिशोधपूर्ण राजनीति गर्दै लोकतान्त्रिक मूल्य–मान्यतामाथि आघात पुर्याइरहेको आरोप लगाएका छन्।
नेकपा (एमाले) का सचिव महेश बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै राजनीतिक बन्दी नहुनु लोकतन्त्रको महत्वपूर्ण सूचक भएको उल्लेख गरेका छन्। उनले विगतमा नेपाल यस विषयमा उदाहरणीय देश रहेको तर हालका घटनाक्रमले चिन्ता बढाएको बताएका छन्।
बस्नेतले सरकारद्वारा अनुभवहीन र विवादित व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारी दिइएको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक को गिरफ्तारीप्रति आपत्ति जनाएका छन्। उनले यस्ता गतिविधिले द्वन्द्व बढ्ने र प्रतिशोध तथा पूर्वाग्रह झल्किने चेतावनी दिएका छन्।
उनले सुरक्षाकर्मीहरूको भूमिकामाथि पनि प्रश्न उठाउँदै सरकारी सम्पत्ति जोगाउन नसक्ने प्रहरीहरूलाई लोकतन्त्रका लागि लडेका नेताहरूलाई गिरफ्तार गर्न ठूलो संख्यामा परिचालन गरिएकोमा दुःख व्यक्त गरेका छन्। उनले लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न पार्टीका तर्फबाट सुरु हुने प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्।
यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले पनि सरकारको आलोचना गर्दै सुशासन र आर्थिक समृद्धिको लक्ष्यसहित गठन भएको सरकार अहिले निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा गएको बताएका छन्।
थापाले वर्तमान समयमा द्वन्द्व र मुठभेड कसैको प्राथमिकता हुनु नहुने उल्लेख गर्दै कानुनी राज्यको पालना, आपसी मेलमिलाप र राष्ट्रिय एकता नै सुशासन र समृद्धिका आधार भएको बताएका छन्। कमल थापाले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा परराष्ट्र मन्त्री भएर सँगै काम गरेका थिए। कमल थापाको नजरमा केपी शर्मा ओलीलाई राष्ट्रवादी नेताको छविको रूपमा बुझ्ने गर्दछन्।
दुवै नेताहरूको प्रतिक्रियाले विपक्षी दलहरूमा बढ्दो असन्तुष्टि झल्काएको छ र आगामी दिनमा राजनीतिक गतिविधि तथा आन्दोलन थप तीव्र हुने संकेत देखिएको छ।


Screenshot

