२०८३ बैशाख १६ गते बुधवार | 2026 April 29th Wednesday

क्वान्टम विज्ञानमा ऐतिहासिक उपलब्धि: हिलियम परमाणुहरू इनट्याङ्गल अवस्थामै अवलोकन

प्रकाश काफ्ले / काठमाडौं ।अष्ट्रेलियन नेशनल युनिभर्सिटी (एएनयू) का वैज्ञानिकहरूले ब्रह्माण्डको अत्यन्त जटिल र रहस्यमय नियमलाई प्रत्यक्ष रूपमा पुष्टि गर्दै क्वान्टम भौतिकशास्त्रमा ठूलो उपलब्धि हासिल गरेका छन्। अनुसन्धानकर्ताहरूले पहिलो पटक ‘हिलियम’ परमाणुहरूलाई एउटै समयमा फरक–फरक स्थानमा उपस्थित हुने अवस्थामै (इनट्याङ्गल्ड इन मोसन) अवलोकन गरेका छन्। यो उपलब्धि विज्ञानका लागि ऐतिहासिक मानिएको छ।

नेचर कम्युनिकेशन्स (Nature Communications) मा प्रकाशित उक्त अध्ययनका प्रमुख अनुसन्धानकर्ता योगेश श्रीधर र डा. सिन हजम्यानका अनुसार, यस सफलताले करिब १०० वर्षअघि गरिएको क्वान्टम सिद्धान्तको भविष्यवाणीलाई व्यवहारिक रूपमा प्रमाणित गरेको छ।

यसअघि यस्ता प्रयोगहरू प्रकाशका कण ‘फोटोन’ मा मात्र सफल भएका थिए। तर, हिलियम जस्ता परमाणुहरूमा तौल (पिण्ड) हुने र गुरुत्वाकर्षणको प्रभाव पर्ने भएकाले यो प्रयोग अझ जटिल र महत्वपूर्ण मानिन्छ।

डा. हजम्यानका अनुसार, “एउटै कण एकै समयमा दुई स्थानमा हुन सक्छ र आफैंसँग हस्तक्षेप गर्न सक्छ भन्ने कुरा सिद्धान्तमा मात्र सीमित थियो, तर यसलाई प्रत्यक्ष देख्न पाउनु अत्यन्तै रोमाञ्चक अनुभव हो।”

यो खोजले सूक्ष्म स्तरको क्वान्टम मेकानिक्स र विशाल स्तरको गुरुत्वाकर्षणबीचको सम्बन्ध स्पष्ट पार्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। साथै, लामो समयदेखि खोजी भइरहेको ‘थ्योरी अफ एभ्रिथिङ’ तर्फ महत्वपूर्ण कदमका रूपमा यसलाई हेरिएको छ।

प्रकाशित मिति : २०८२ चैत्र १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस