प्रकाश काफ्ले / काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले दलित तथा सीमान्तकृत समुदायसँग औपचारिक रूपमा माफी मागे पछि यसले राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय स्तरमै ठूलो चर्चा पाएको छ, विशेष गरी भारतीय सञ्चारमाध्यम र संसद्मा यसको उल्लेखनीय बहस भएको देखिन्छ। विशेष गरेर सत्तारुढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्को पहिलो बैठकमा हात जोडेर दलित समुदायसँग माफी मागेपछि सो कुरा झन् बढी चर्चामा आएको हो। सदियौंदेखि सामाजिक, आर्थिक तथा सांस्कृतिक रूपमा विभेद र शोषण झेल्दै आएका करिब ६० लाख दलित समुदायप्रति गरिएको यो माफीलाई धेरैले ऐतिहासिक कदमका रूपमा लिएका छन्, जसले विगतका गल्ती सच्याउने र सामाजिक न्याय स्थापना गर्ने दिशामा महत्वपूर्ण संकेत गरेको छ। कतिपय विश्लेषकहरूले यसलाई नेपालको सम्भावित सामाजिक क्रान्तिको सुरुवातका रूपमा व्याख्या गरेका छन्।
तर, यस निर्णयप्रति मिश्रित प्रतिक्रिया पनि देखिएको छ। केहीले यसलाई ऐतिहासिक न्यायको सुरुवात मानेर स्वागत गरेका छन् भने अन्यले यसलाई ‘माफीको राजनीति’ भन्दै आलोचना गरेका छन्। उनीहरूका अनुसार केवल माफी माग्नु पर्याप्त होइन, बरु व्यवहारमा परिवर्तन ल्याउने, कानुनको कडाइका साथ कार्यान्वयन गर्ने र दलित समुदायको वास्तविक जीवनस्तर सुधार्ने ठोस कदम आवश्यक छन्। यस सन्दर्भमा विगतका सरकार र नेताहरूले कानुन कार्यान्वयनमा देखाएको कमजोरी पनि उजागर भएको छ। समग्रमा, यो घटनाले नेपालको राजनीतिमा सामाजिक न्याय, समानता र दलित अधिकारका विषयमा गम्भीर बहसलाई नयाँ उचाइ दिएको छ।

