काठमाडौँ। महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सीता वादीले आफ्नो पाँच हप्ताको अनुभव बाँडेकी छन्। उनले १० बुँदामा आफ्नो अनुभव र प्रतिवद्धता व्यक्त गरेकी छिन्। उनले सामाजिक सञ्जालमा लेख्दै भनेकी छिन्, ‘भोट दिएको हुँ भन्ने आधारमा दबाब वा प्रभावमा काम गरेको छैन र सबै नागरिकलाई समान सेवा गरेकी छु।’
उनले कमजोर र सीमान्तीकृत वर्गलाई प्राथमिकतामा राखेको काम गरेको बताएकी छन्। ‘नागरिकका दुःख, आपत् वा अप्ठ्यारोमा सम्भव भएसम्म आफैं तपाईंहरूसँग उभिन प्रयास गर्नेछु,’ उनले भनेकी छन्, ‘मलाई विश्वास छ—सुशासन केवल सरकारको नीतिले मात्र होइन, नागरिकको सचेत र सामूहिक प्रयासबाट सम्भव हुन्छ। हामी सबै मिलेर मात्र वास्तविक परिवर्तन सम्भव छ।’
उनले जनताको आशा र विश्वास बोकेर सार्वजनिक जिम्मेवारी सम्हालेको झण्डै पाँच हप्ता भएको र केही विचार र प्रतिबद्धता बाँड्न चाहेको उल्लेख गरेकी छिन्। यस्ता छन् मन्त्री वादीका १० वाचाः
१. नातागोता, सम्बन्ध वा चिनजानको आधारमा जागिर लगाउने, नियुक्ति दिने तथा स्वार्थप्रेरित सरुवा–बढुवा मिलाउने काम गर्दिनँ ।
२. कानूनविपरीत भनसुन गर्ने वा शक्तिको दुरुपयोग गर्दिनँ ।
३. कानून वा नियम उल्लङ्घन गर्ने व्यक्तिको संरक्षण गर्ने वा गलत काम गर्ने व्यक्तिलाई कानूनी कारबाहीबाट बचाउने काम गर्दिनँ ।
४. लागूऔषध, ठगी, जालसाजी, कुटपिट, तस्करीजस्ता अपराधमा संलग्न कुनै पनि व्यक्तिको संरक्षण गर्दिनँ ।
५. कुनै पनि बहानामा कमिसन, घुस लिने वा भ्रष्टाचार गर्ने–गराउने काममा संलग्न हुने छैन । त्यस्तो कार्य भएको जानकारी पाएमा त्यसविरुद्ध सशक्त रूपमा उभिनेछु।
६. विशेष गरी—महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति वा कुनै पनि सीमान्तीकृत समुदायमाथि हुने हिंसा र अन्यायविरुद्ध सधैं लड्नेछु । यस्ता मुद्दामा कुनै सम्झौता हुने छैन ।
७. राज्यका कुनै पनि स्रोतसाधनको दुरुपयोग गर्दिनँ ।
८. सरकारी सेवा छिटो गराइदिन स्क्रिन सट खोज्ने, सिफारिस मिलाइदिन वा स्रोतसाधन निजी प्रयोजनमा प्रयोग गराउने प्रयास स्वीकार गर्दिनँ ।
९. मन्त्री सुविधाका नाममा अनावश्यक सुविधा—क्वार्टर, घरभाडा वा कूटनीतिक राहदानी—लिने छैन ।
१०. ‘भोट दिएको हुँ’ भन्ने आधारमा दबाब वा प्रभावमा पर्ने छैनस सबै नागरिकलाई समान रूपमा सेवा गर्नेछु। विशेषगरी कमजोर र सीमान्तीकृत वर्गलाई प्राथमिकता दिनेछु।

