२०८३ असोज १७ गते शनिवार | 2026 October 3rd Saturday

शिक्षाका लागि भनेर अत्याधिक नेपालीहरु किन जापान गइरहेका छन् ?

काठमाडौं – पछिल्लो साढे ६ वर्षमा जापान नेपाली विद्यार्थीको प्रमुख गन्तव्य बनेको छ। अध्यागमन विभागका तथ्याङ्कअनुसार सन् २०२५ मा मात्रै १ लाख ३३ हजारभन्दा बढी विद्यार्थी विदेशिएका मध्ये ४०,८०० जापान गएका थिए। सन् २०२० देखि हालसम्म १ लाख ६३ हजारभन्दा बढी नेपाली विद्यार्थी जापान पुगेका छन्। विशेषज्ञहरूका अनुसार धेरै विद्यार्थीको उद्देश्य उच्च शिक्षा भन्दा पनि रोजगारी र जीवनस्तर सुधार हो। जापानमा भाषा शिक्षा हासिल गर्दै उनीहरूले पार्ट टाइम काम गरेर खर्च फिर्ता गर्ने अवसर पाउँछन्। हप्तामा २८ घण्टा कानुनी रूपमा काम गर्न सकिने भएकाले आकर्षण बढेको छ।

शैक्षिक परामर्श संस्थाहरूका अनुसार जापानमा भाषा पढ्न जाने विद्यार्थीले १ वर्षमा १५–१८ लाख रुपैयाँ खर्च गर्छन्, दुई वर्षमा ३० लाखसम्म। उच्च वर्गीय परिवारका लागि क्यानडा, अमेरिका, अष्ट्रेलिया जस्ता गन्तव्य लोकप्रिय भए पनि मध्यम वर्गीय परिवारले कम लागत र कामको अवसरका कारण जापान रोज्ने गरेका छन्। शिक्षाविद्हरूले १२ कक्षा सकिनासाथै विद्यार्थी विदेश जाने प्रवृत्तिले नेपालकै उच्च शिक्षा संरचनामा असर परेको बताउँछन्। शिक्षा मन्त्रालयले विदेशी विश्वविद्यालयसँग सहकार्य गरेर नेपालमै संयुक्त डिग्री कार्यक्रम सञ्चालन गर्ने कानुनी व्यवस्था मिलाएको छ।

प्रकाशित मिति : २०८३ भाद्र ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस