काठमाडौँ – पानीपोखरीस्थित भानुभक्त मेमोरियल विद्यालय र इडु-कम (edu.com) को संयुक्त आयोजनामा २०८३ आश्विन १९ गते पन्ध्रौंअन्तर विद्यालय डिजिटल शुभकामना कार्ड डिजाइनिङ प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ। विद्यार्थीहरूमा लुकेर रहेको सिर्जनशीलता र प्राविधिक सीपलाई प्रवर्द्धन गर्दै स्वस्थ प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्ने मुख्य उद्देश्यका साथ आयोजित उक्त प्रतियोगितामा आठ विद्यालयका विद्यार्थीहरूले “डिजिटल सिर्जनशीलतामार्फत नेपाली चाडपर्वहरूको उत्सव” विषयमा एमएस-पेन्ट (MS-Paint) मार्फत उत्कृष्ट शुभकामना कार्डहरू तयार पारेका थिए।
यसै विद्यालयका कामू-प्रधानाध्यापक श्री ज्ञानध्वज लामाको अध्यक्षतामा भानु हलमा आयोजित औपचारिक समारोहमा श्री विजय कर्माचार्य (संयुक्त राष्ट्र संघका पूर्व कर्मचारी, २००५-२०२२) प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसैगरी विशिष्ट अतिथि सुश्री रस्मिता शाक्य (प्रधानाध्यापक, डिलाइट स्कुल) तथा सम्मानित अतिथिहरू सुश्री बागदेवी राई (प्रधानाध्यापक, नवप्रभात स्कुल) र इडु-कम (edu.com) का निर्देशक श्री अनिल श्रेष्ठको गरिमामय उपस्थिति रहेको थियो। श्री उपेश राना, सुश्री सृष्टि टाटर र श्री दीपक मगर सम्मिलित निर्णायक मण्डलले प्रतियोगिताको मूल्याङ्कन गरेको थियो।
उक्त प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै ओमेगा स्कुलका दिशान्त पाण्डे प्रथम, रिब्स स्कुलकी आफ्रिन अर्याल द्वितीय र भानुभक्त मेमोरियल विद्यालयकी अनुष्का अर्याल तृतीय स्थान हासिल गर्न सफल भएका छन्। विजेताहरूलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिनुका साथै सम्पूर्ण प्रतिस्पर्धीहरूलाई उनीहरूकै डिजिटल कलाकृतिको रङ्गीन प्रिन्टसहित सहभागिता प्रमाणपत्र वितरण गरिएको थियो भने सभापति श्री ज्ञानध्वज लामाको समापन मन्तव्य तथा धन्यवाद ज्ञापनसँगै कार्यक्रम विसर्जन भएको थियो।

प्रकाशित मिति : २०८३ असोज २० गते मङ्गलवार

