काठमाडौं । बहुचर्चित ३८ सय किलो सुन तस्करी प्रकरणको मुद्दा सर्वोच्च अदालत पुगेको छ। जिल्ला र उच्च अदालतले संगठित अपराध तथा भन्सारसम्बन्धी कसुरमा धेरै अभियुक्तलाई सफाइ दिएको फैसला त्रुटिपूर्ण रहेको भन्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको हो।
७७ प्रतिवादी रहेको मुद्दामा जिल्ला र उच्च अदालतले चूडामणि उप्रेती ‘गोरे’सहित नौजनालाई मात्रै विभिन्न कसुरमा दोषी ठहर गरेका थिए भने ५६ जनालाई सफाइ दिएका थिए। बाँकी १२ जनाको मुद्दा मुल्तबीमा छ। महान्यायाधिवक्ता कार्यालयले अभियुक्तहरूको बयान, कल डिटेल, आवागमन विवरण, कारोबारका अभिलेख तथा अन्य प्रमाणलाई पर्याप्त रूपमा मूल्यांकन नगरी सफाइ दिइएको दाबी गरेको छ। पुनरावेदनमा सफाइको फैसला बदर गरी संलग्न अभियुक्तलाई कानुनअनुसार कारबाही गर्न माग गरिएको छ।
२०७४ सालमा ३३ किलो सुन हराएपछि सनम शाक्यको ह“त्या भएको घटनाबाट सुरु भएको अनुसन्धानमा उक्त समूहले पाँच वर्षमा करिब ३८ सय किलो सुन तस्करी गरेको निष्कर्ष निकालिएको थियो। यद्यपि, तस्करीको सुन भने बरामद हुन सकेको थिएन। त्यो सुन कहाँ छ ? को–को संलग्न छन् । नेता, कर्मचारी, प्रहरी, न्यायाधीशदेखि वकिलसम्म कसले कति भाग लिए भनेर समेत खोज्नेगरी प्रधानमन्त्री बालेन शाहको जोडमा यो मुद्दा सर्वोच्च पुगेको हो । महान्यायाधिवक्ता प्रधानमन्त्री तथा सरकारका कानूनी सल्लाहकार हुन्छन् । सरकारवादी मुद्दा सरकारले अघि बढाउँछ ।
प्रकाशित मिति : २०८३ मङ्सिर २ गते मङ्गलवार


