२०८३ मङ्सिर ५ गते शुक्रवार | 2026 November 20th Friday

प्रधानमन्त्री शाहको भारत भ्रमण स्वीकृतसँगै यी हुन् मन्त्रिपरिषदका ७ महत्वपूर्ण निर्णय

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको मंसिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमणलाई मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भ्रमणका लागि ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री शाहले भारतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्तामा ऊर्जा, व्यापार, पारवहन, लगानी, पूर्वाधार तथा दुई देशबीचको सम्पर्क सञ्जाल विस्तारका विषयमा छलफल हुने बताइएको छ।

बैठकले भोटेकोशी बाढी प्रभावितका लागि चीनबाट प्राप्त हुने २० लाख अमेरिकी डलर अनुदान र अन्तर्राष्ट्रिय मुद्रा कोषबाट प्राप्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ।

यस्तो छ मन्त्रिपरिषद बैठकका निर्णय-

१.२०८३ मङ्सिर ६ र ७ गते प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गर्ने र उक्त भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने।
२.चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा तथा तत्कालीन आपत्कालीन उद्धार र राहत कार्यका लागि प्राप्त हुने २ मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने।
३. अन्तर्राष्ट्रिय मुद्रा कोषबाट Rapid Credit Facility अन्तर्गत प्रास्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबर निर्व्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने।
४.नेपाल भर नाप जाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नाप जाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने।
५. राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६-२०३०) स्वीकृत गर्ने।
६.ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नर्म्स, २०८३ स्वीकृत गर्ने।
७.राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३ स्वीकृत गर्ने।

 

प्रकाशित मिति : २०८३ मङ्सिर ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस