२०८० चैत्र १५ गते बिहिवार | 2024 March 28th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पाँच अर्ब लगानीको ‘बुटवल-वसन्तपुर केवलकार’ अर्को सातादेखि सञ्चालन हुने !

cable car butwol

काठमाडौं । बुटवलदेखि पाल्पाको बसन्तपुर जोड्ने गरी निर्माण भइरहेको ‘लुम्बिनी केवलकार’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ । बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केवलकार निर्माण सम्पन्न भइ हाल प्राविधिक परीक्षण सुरु गरिएको छ ।

यही जेठको १५ गतेदेखि नियमित सञ्चालन गर्ने लक्ष्यका साथ तयारी भइरहेको कम्पनीका आयोजना व्यवस्थापक गोकुल साउदले जानकारी दिनुभयो । साउदका अनुसार वसन्तपुरमा निर्माण गरिएको कामाख्या देवी मन्दिरमा जेठ १२ गतेदेखि १८ सम्म महायज्ञ सञ्चालन गरिने भएको छ ।

केबुलकारको आधार स्टेसन बुटवलको वडा नं. ३ बमघाटमा र माथिल्लो स्टेसन वसन्तपुरमा रहनेछ । केवलकारको लम्बाई २ दशमलव छ किलोमिटरको हुनेछ । केवलकारमा २५ वटा गोण्डुला रहनेछन् भने एउटा गोण्डुलामा एकैपटक आठ जनाले यात्रा गर्न सक्नेछन् । साथै प्रतिघण्टा अधिकतम छ सय यात्रुलाई सेवा दिन सकिनेछ भने केवलकार पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक पाँच हजार यात्रु आवतजावत गर्न सक्ने कम्पनीको भनाइ छ ।

व्यवस्थापक साउदका अनुसार यस आयोजनामा करिब रु पाँच अर्ब लगानी भएको छ । जसमा केवलकार, क्यासिनोसहितको एक सय ५० कोठाको पाँच तारे होटल, कामाख्या देवीको मन्दिर, रेष्टुराँ तथा बार र पार्क निर्माण गरिनेछ । वसन्तपुरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरी भारतीय पर्यटक भित्र्याउने लक्ष्यसहित केवलकार निर्माण गरिएको हो । केवलकार सञ्चालनमा आएसँगै यस आसपासका क्षेत्रमा पर्यटन विकाससँगै आर्थिक गतिविधि चलायमान हुने साउनको भनाइ छ । केवलकारको शिलन्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस