२०८१ बैशाख ७ गते शुक्रवार | 2024 April 19th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रास्वपाको छोटो समयमा ७४ जिल्लामा संगठन पुग्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तार गरी ७४ जिल्लामै पुर्‍याएको छ । डोल्पा, हुम्ला र पश्चिम रुकुम गरी तीन जिल्लामा संगठन विस्तार हुन बाँकी रहेको रास्वपाले जनाएको छ ।

छोटो समयमा पार्टी संरचनालाई छिटो–छरितो बनाउने उद्देश्यले सानो आकारको समिति बनाउने गरिएको रास्वपाको दाबी छ । तीन तहको सरकार संरचनासँग मिल्ने गरी पालिका, प्रदेश र केन्द्र गरी मूल रूपमा तीनवटा पार्टी संरचना हुने रास्वपाले जनाएको छ ।

पालिका संरचना अन्तर्गत वडा समिति र प्रदेश अन्तर्गत जिल्ला एवं संघको निर्वाचन क्षेत्र समिति बनाउने गरिएको छ । पार्टी संरचनामा आधार तह वडा समिति रहेको छ भने केन्द्रीय समिति सबैभन्दा माथिल्लो संरचना छ । वडा र पालिकामा ११–११, संघीय निर्वाचन क्षेत्रमा ५, जिल्लामा २, प्रदेशमा ५०, केन्द्रमा १२१ जना सदस्य रहेको समिति हुने व्यवस्था छ ।

केन्द्रीय सदस्यमा हाल ३९ जना छन् । संघीय निर्वाचन क्षेत्र अनुसारको समिति बन्ने क्रममा छ । जिल्लामा संयोजक र सहसंयोजक मात्रै रहेको पार्टी संरचना बनाएको छ ।

‘प्रदेश समितिमा जिल्ला समितिको संयोजक र सहसंयोजक सदस्य हुने व्यवस्था छ’ सहमहामन्त्री तथा संगठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीले भन्नुभयो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र समितिका लागि पाँच जनाको कार्यसमिति बनाउन हालसालै आवेदन आह्वान गरिएको छ । जेठको मध्यसम्म आवदेनको समय राखिएको छ । जेठ १६ देखि २० गतेसम्म प्रतिनिधिसभा क्षेत्रको समिति बनाउन आवेदकहरूको चुनाव हुँदैछ । प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमा बन्ने समितिका लागि हालसम्म ८०० हाराहारी आवेदन परेका छन् । उक्त समितिमा प्रदेश सभाबाट २–२ जना अनिवार्य र थप १ गरी पाँच जना रहनेछन् ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस