२०८१ भाद्र ३० गते आइतवार | 2024 September 15th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज भोटो देखाउने जात्रा, सार्वजनिक विदा

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । राष्ट्राध्यक्षको उपस्थितिमा हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलन छ ।

बिहीबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेल भोटो देखाउने जात्रामा सहभागी हुने कार्यक्रम छ । गुठी संस्थान ललितपुरका प्रतिनिधिले भोटो देखाउनेछन् । मच्छिन्द्रनाथको जात्रा एक हजार ३०० वर्षअघि नै शुरु भएको मानिन्छ । तर, भोटो देखाउने जात्रा कहिलेदेखि सुरु भयो यकिन छैन ।

राष्ट्रिय समाचार समिति (रासस) का अनुसार यो जात्रालाई करिब ८०० वर्ष अघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य कीर्तिमदन जोशीले राससलाई जानकारी दिनुभयो । जोशीका अनुसार भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।

यो जात्राबारे रोचक किम्बदन्ती छ ।

किम्बदन्तीअनुसार यो यात्रा शुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे । डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । नागराजले पुरस्कारस्वरुप बहुमूल्य मणि जडित भोटो किसानलाई दिएर मनुष्य लोकमा फर्काइयो ।

किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे तर पाएनन् । मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कार स्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो ।

आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छिन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि हरेक वर्ष साइत हेरेर भोटो देखाउने गरिएको जन विश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान भने सकेको छैन ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस