२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रेशम चौधरीको सजाय माफी गर्ने बाटो खुल्यो, गणतन्त्र दिवसका दिन उन्मुक्ति

resham chaudhary

काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका पूर्व सांसद रेशम चौधरीले आफ्नो सजाय माफीका लागि दिएको निवेदन राष्ट्रपतिले गृह मन्त्रालयमा पठाइदिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार रेशमको निवेदन गृहमा कानून अनुसार गर्नु भन्दै पठाउनुभएको हो । रेशमको निवेदन गृहमार्फत नै राष्ट्रपति कार्यालय पुगेको थियो ।

त्यसमा प्रचलित कानून, अदालतहरुबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी गर्नू भनेर गृह मन्त्रालयलाई फिर्ता पठाइएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । यससँगै रेशम चौधरीको सजाय माफी गर्ने बाटो अब खुलेको स्रोतले बतायो ।

सर्वोच्च अदालतले २ जेठ, २०८० मा मात्र रेशमलाई जन्मकैद सजाय गर्ने उच्च अदालत, दिपायलले गरेको फैसला सदर गरेको थियो । सर्वोच्च अदालतको फैसलालगत्तै त्यसविरुद्ध पुनरावलोकनमा जाने भनी वक्तव्य दिनुभएका चौधरीले संविधानको धारा २७६ अनुसार माफी मिनाहाको बाटोबाट कैदमुक्त हुने बाटो रोज्नुभयो ।

पुनरावलोकन छोड्नुभयो । धारा २७६ मा ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्नेछ’ भन्ने व्यवस्था छ ।

यस्तै मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को दफा १५९ मा अदालतको फैसला बमोजिम सजाय पाएको व्यक्तिले माफी पाउन, मुल्तवी राख्न, परिवर्तन वा कम गर्न गृह मन्त्रालय मार्फत राष्ट्रपतिलाई निवेदन दिन सक्ने व्यवस्था छ । यही व्यवस्थालाई टेकेर रेमशले सजाय माफीका लागि निवेदन दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि राष्ट्रपतिलाई भेटेर प्रक्रियामा सहयोग गर्न आग्रह गर्नुभएको थियो ।

शुक्रबार राष्ट्रपति कार्यालयले कानून बमोजिम गर्नु भनेर निवेदन गृहमा पठाएको छ । अब गृह मन्त्रालयले राष्ट्रपति कार्यालयबाट आएको फाइलमा महान्यायाधिवक्ताको राय लिएर ‘माफी मिनाहा’को प्रस्ताव मन्त्रिपरिषद पठाउँछ । मन्त्रिपरिषदबाट निर्णय गराई राष्ट्रपति कार्यालयले निर्णय गरेपछि कैदीको बाँकी कैद माफी मिनाहा हुन्छ । यसबारे शुक्रबार मन्त्रिपरिषद् बैठकमा यसबारे छलफल भएको एक मन्त्रीले बताउनुभयो । उहाँका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले गणतन्त्र दिवस (१५ जेठ) का अवसरमा माफी मिनाह पाउनेहरुबारे निर्णय गर्नेछ । ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा थारुवान आन्दोलनका क्रममा एक नाबालक सहित ८ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस