२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राष्ट्रपतिद्वारा रेशम चौधरीलाई आममाफी दिन नसकिने भन्दै प्रस्ताव फिर्ता

resham chaudhary

काठमाडौं । सजाय माफी गरी आफूलाई कैदमुक्त गर्न माग गर्दै रेशम चौधरीले पठाएको पत्र राष्ट्रपति रामचन्द्र पौडेलले गृहमन्त्रालयमा प्रस्ताव फिर्ता पठाउनुभएको छ ।

रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानून, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरीत नहुने गरी कानून बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

टिकापुरमा २०७२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय काटिरहेका रेशमले बाँकी सजाय माफीका लागि दिएको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालयमा पुगेको थियो । चौधरी १५ फागुन, २०७४ देखि थुनामा हुनुहुन्छ । उहाँलाई अदालतले तोकेको जन्मकैदको सजाय अनुसार, २० वर्ष कैद भुक्तान गर्नुपर्ने थियो ।

साथै टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा दिएको निवेदनलाई पनि राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा कार्यार्थ पठाएको छ । उहाँले रेशमलगायतलाई थुनामुक्त गर्न नहुने माग राखेर राष्ट्रपति कार्यालयमा निवेदन दिनुभएको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस