२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछानेविरुद्ध जाहेरीमा अदालतको आदेश अनुसार वडाको पत्र र अस्पतालको कागजमा के छ ?

sandeep lamichhane

काठमाडौं । सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने ‘गौशाला २६’ को जन्म मितिबारे थप स्पष्ट पार्न अदालत र वडा कार्यालयलाई अदालतले दिएको आदेश अनुसार पत्र र कागज पठाएका छन् ।

थप प्रष्ट पार्दै सम्बन्धित वडा कार्यालयले फेरि जिल्ला अदालतलाई दोस्रो पटक पत्र पठाएको छ । यसै गरी नारायणी अञ्चल अस्पतालको कागज पनि अदालतमा पुनः पेश भएको छ ।

गत आइतबार सन्दीपविरुद्धको मुद्दामा जिल्ला अदालतले वडाको पत्र र अस्पतालको कागज फेरि झिकाउन आदेश दिएको थियो । यसअघि आएको वडा कार्यालयको पत्रमा जन्म मिति स्पष्ट नभएको र अस्पतालको कागजमा लेखिएको विवरण राम्ररी नबुझिएको भन्दै अदालतले दोस्रो पटक ती डकुमेन्ट माग गरेको हो । आदेश बमोजिम दुवै डकुमेन्ट अदालतलाई प्राप्त भएको स्रोतले बतायो ।

स्रोतका अनुसार वडा र अस्पताल दुवैले जाहेरीकर्ता गौशाला २६ नाबालिग नरहेको पुनः पुष्टि गरेका छन् । वडाको पत्र र अस्पतालको कागजमा उल्लेखित जन्म मितिमा एक महिनाको तलमाथि देखिन्छ, तर दुवै जन्म मितिअनुसार घटना भएको समयमा गौशाला २६ को १८ वर्ष काटिसकेको देखिन्छ ।

नुवाकोटको तादी गाउँपालिकाको सम्बन्धित वडाले पठाएको पत्रमा गौशाला २६ को वास्तविक जन्म मिति २०६१–०३–१८ उल्लेख छ । यसका आधारमा गौशाला २६ गत वर्षको असार १८ गते १८ वर्ष काटेर बालिग भएको देखिन्छ । वडाको पत्रअनुसार गौशाला २६ ले आफ्नो एसईईको फारम भर्दा एक वर्ष उमेर घटाएकी थिइन् र त्यसअनुसार जन्म मिति सच्याउन वडामा निवेदन दिएकी थिइन् ।

सोही पत्रका आधारमा वडाले २०६२–०३–१८ जन्म मिति राखेर जन्मदर्ताको प्रतिलिपि उपलब्ध गराएको छ । तर, प्रतिलिपिमा पनि दर्ता नम्बर पुरानै (२०६१०३१८००५९२) रहेको भन्दै वडा कार्यालयले वास्तविक जन्म मिति २०६१–०३–१८ नै रहेको जनाएको छ ।

यता, गौशाला २६ को जन्म भएको नारायणी अञ्चल अस्पतालले आफ्नो अभिलेखको रजिस्टर नै पठाइदिएको छ । त्यसमा गौशालाको जन्म मिति २०६१–०२–१८ उल्लेख छ । अस्पतालमा रहेको जन्म मितिभन्दा एक महिना फरक पारेर गौशालाको पहिलो जन्मदर्ता बनाइएको पाइएको छ । यदि सरकारी कागजातहरूमा जन्म मिति फरक फरक पाइएको खण्डमा जुन डकुमेन्ट सबैभन्दा पहिले बनाएको हो, त्यसलाई आधिकारिक मान्ने कानूनी व्यवस्था छ ।

सर्वोच्च अदालतको उमेरसम्बन्धि विवादको यसअघिको फैसलामापनि यही नजिर छ । जन्ममितिसम्वन्धी सबैभन्दा पहिलो डकुमेन्ट अस्पतालको कागज भएकाले त्यसलाई नै आधिकारिक मान्नुपर्ने सन्दीपका वकिलहरूको दावी छ । जाहेरीकर्ताका वकिलहरूले भने नागरिकता र शैक्षिक प्रमाणपत्रलाई देखाएर घटना हुँदा गौशाला २६ नाबालिग नै रहेको दाबी गरिरहेका छन् । सन्दीपको मुद्दामा अर्को पेशी आगामी मङ्गलबारलाई तोकिएको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस