२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

म फुर्सदिलो भएँ, अब निरन्तर फिल्म गर्छु : विपना थापा

काठमाडौं । स्पर्श म्युजिक भिडियो अवार्ड २०२३ को अवार्ड समारोहका लागि बिहीबार काठमाडौं आइपुगेकी अभिनेत्री विपना थापाले अब निरन्तर फिल्ममा काम गर्ने बताएकी छन् । एकसमय सिनेनगरीमा राज गरेकी अभिनेत्री हुन् विपना थापाले सिनेमामा चलिरहेकै बेला भारतीय नागरिकसँग विवाह गरिन् र भारतनै बस्न थालिन् ।

उनी यतिबेला नेपाल आएकी छन् । विमानस्थलमा सञ्चारकर्मीले उनलाई अभिनय योजनाबारे सोधेका थिए । नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’सँगै १७ वर्षपछि उनी फिल्ममा पुनरागमन गर्दैछिन् ।

विमानस्थलमा उनले भनिन्, ‘अब छोरा ठूलो भइसकेको छ । यसैले म फुर्सदिलो छु र फिल्ममा काम गर्न कुनै समस्या छैन । मलाई म्युजिक भिडियोमा पनि काम गर्नु रहर छ ।’ ह्रस्वदीर्घबाहेक अन्य केही फिल्मबाट समेत अफर आइरहेको बताउँदै उनले यसबारे निधो नभइसकेको जानकारी दिइन् । ‘अन्य फिल्मबाट प्रस्ताव आइरहेको छ ।

सुहाउँदो भूमिका पाएँ भने अवश्य फिल्म गर्नेछु,’ उनले भनिन्, ‘ह्रस्वदीर्घ अगस्टदेखि सुटिङ हुँदैछ । अरु एक–दुईवटा फिल्मसँग कुरा भइराखेको छ । म्युजिक भिडियोबाट प्रस्ताव आयो भने त्यो पनि गर्छु ।’ छोरा पनि हुर्किसकेकाले आफू हिजाओज स्वतन्त्र भएको उनले बताइन् ।

‘अब फिल्ममा लगातार काम गर्ने हो । छोरा पनि ठूलो भइसकेको छ । अहिले म फ्रीजस्तै छु,’ उनले भनिन् । उनले माइती देशको प्रशंसा गर्दै पहिले एक वर्षको अन्तरालमा आउने गरे पनि अहिले भने केही महिनाकै अन्तरमा आउने गरेको सुनाइन् । कहिलेकाहीं त्यही सबथोक छाडेर नेपाल आऊँ कि जस्तो लाग्ने गरेको उनले सुनाइन् ।

विपनाले ८० र ९० को दशकमा झण्डै ७० फिल्ममा अभिनय गरेकी छन् । २०५१ सालको फिल्म ‘अपहरण’बाट अभिनय करिअर थालेकी विपनाको पछिल्लो रिलिज फिल्म ‘संघर्ष जिन्दगीको’ २०६७ सालमा रिलिज भएको थियो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस