२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१२ वर्षभन्दामाथिका छात्रा मात्रै कक्षा कोठामै काँप्न थाले, देवताकै कारण यस्तो भएको शिक्षकहरुको दावी

डोटी । डोटी, बोगटान फुड्सिल गाउँपालिका–१ को सिमचौर माविमा कक्षा १० मा अध्ययनरत रमिला (नाम परिवर्तन) बिहानै हतारहतार गरेर विद्यालय आइन् । गर्मीको समयमा छकालै (बिहानै) विद्यालय खुल्ने भएका कारण पनि उनलाई झन् बढी हतार हुन्छ ।

विद्यालयमा आएपछि उनले पहिलो, दोस्रो र तेस्रो विषय राम्रैसँग पढिन् । चौथो विषयको पढाइ सुरु मात्रै भएको थियो, उनी रुन थालिन् । सँगै बसेकी साथीले उनलाई के भयो भनेर सोध्दा उनी झन् जोरले चिच्याउन थालिन् । चिच्याउँदा चिच्याउँदै उनी झाँक्री जस्तै काँप्न थालिन् । कक्षा कोठामा हल्लीखल्ली भयो ।

कक्षा शिक्षक र विद्यार्थीहरुले उनलाई च्यापेर राखेका थिए । अन्य कक्षा कोठामा पनि हल्ला फैलियो । यति हुँदासम्म कक्षा ८ मा पढ्ने उजली (नाम परिवर्तन) लाई पनि यस्तै भयो । उनी काँप्दै रमिला भएको कोठामा प्रवेश गरिन् । यी दुवै काँप्ने, रुने चिच्याउने गरिरहेका थिएँ । अन्य कक्षामा पनि किशोरीहरु काँप्न सुरु भयो । सँगसँगै ८–९ जना छात्राहरु काँप्न थालेपछि सवै कक्षाको पठनपाठन रोकियो । शिक्षक–विद्यार्थीहरु विद्यालयको चौरमा जम्मा भए । शिक्षकहरुले झाक्रि बोलाए ।

देउताको कारण यस्तो भयो

किशोरीहरु विद्यालयमा काँप्नुलाई स्थानीयले देउताको कारण मान्न थालेका छन् । विद्यालयका शिक्षक लोकराज जोशी भन्छन् ‘विद्यालयमा अशान्ति भयो, धामी र पुजारी बोलाएर शान्ति शुद्धि नगरेसम्म विद्यालयमा पठनपाठन सुचारु होला जस्तो छैन ।’ यस्तै विचार व्यक्त गर्छन् एक अभिभावक पनि । छोरी विद्यालयमा काँप्न थालेको खबर पाएपछि हतारहतार विद्यालय पुगेका उनले भने, ‘विद्यालयको माटो शुद्ध गर्नु पर्ने भयो ।’

उनी विद्यालय रहेको ठाउँमा पहिले तलाउ रहेको र उक्त तलाउमा एक जना बालिकाको हत्या भएको आफूले सुनेको बताउन थाले । समुदायमा सबैले देउताकै दोष भएको शंका गरिरहेको विद्यालयका प्रधानाध्यापक डम्मर बम बताउँछन् । उनी भन्छन्, ‘बिरामी भएपछि स्वास्थ्य चौकीलाई पनि खबर गर्‍यौं, केही पनि भएन ।’ यसअघि एक दुई जना काँप्ने गरेकामा अभिभावकलाई खबर गरेर घर पठाएपछि ठीक हुने गरेको प्राधानाध्यापक बमको भनाइ छ । यो समस्या १२ वर्षभन्दामाथिका छात्राहरुमा मात्रै देखिएको बलमे बताए ।

 

प्रकाशित मिति : २०८० जेष्ठ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस