२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शिक्षक माग्दै कैलालीमा विद्यार्थीले दिए धर्ना, सिकिस्त बिरामी भएर अस्पताल भर्ना हुँदापनि मागप्रति बेवास्ता

धनगढी । कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा अध्ययनरत कानून संकायका विद्यार्थी शिक्षकको माग गर्दै आन्दोलित भएका छन्। सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रहेको टीकापुरमा २०७८ सालदेखि कानून संकायतर्फ एलएलबीको पढाउन थालिएपनि शिक्षक पदपुर्ति नगरिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन्। क्याम्पसमा कानून विषयका प्राध्यापकको व्यवस्था गरेर अध्यापन गराउनुपर्ने, मुटकोटको व्यवस्था गर्नुपर्ने, पाठयक्रममा उल्लेख भएका किताब पुस्तकालयमा उपलब्ध हुनुपर्ने लगायतका माग विद्यार्थीहरुको छ।

पहिलो सेमेष्टरदेखि नै कानून विषयको प्राध्यापक बिना अध्ययन गरिरहेको एलएलबी तेस्रो संकायमा अध्ययनरत मनिषा चन्दले बताउनुभयो । आजसम्म सहेर बसेको तर प्राध्यापक नै नाआएपछि पहिलो सेमेष्टर र तेस्रो सेमेष्टरको विद्यार्थीहरुले संयुक्त रुपमा क्याम्पस परिसरमै धर्ना दिएको उहाँले बताउनुभयो । चर्को गर्मीमा धर्ना दिनुपर्दा केही छात्राको स्वास्थ्यमा समस्या देखिएको छ। तेस्रो संकायमा अध्ययनरत ऋतु देवकोटा बेहोस हुँदा उहाँलाई अस्पताल भर्ना गर्नुपरेको छ ।

यस विषयमा टीकापुर बहुमुखी क्याम्पसका प्रमुख केशरबहादुर कुँवरले प्राध्यापक पदपूर्तिका लागि आवेदन माग गरिएकोमा दुई जनाको दरखास्त परेको र उत्तीर्ण भएका प्राध्यापकले आउन नमानेको बताउनुभयो । उहाँले फेरी पदपूर्ति प्रक्रिया अघि बढाउने वा विद्यार्थीहरुलाई धनगढी र महेन्द्रनगर स्थानान्तरण गर्ने विकल्पका बारेमा विश्वविद्यालयका उपकुलपति र रजिष्टारसँग छलफल भइरहेको उहाँको भनाई छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस