२०८१ भाद्र २४ गते सोमवार | 2024 September 9th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग खेल्ने, मुद्दाका कारण सन्दीप लामिछाने टिमबाट छुटे

काठमाडौं । जिम्बाब्वेमा हुने विश्वकप छनोटको अन्तिम तयारीका लागि दक्षिण अफ्रिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्यहाँ स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग दुई अभ्यास खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ क्यानले बिहीबार सार्वजनिक गरेको तालिका अनुसार नेपालले दक्षिण अफ्रिकामा एक साता प्रशिक्षण गर्ने र दुई अभ्यास खेल खेल्नेछ ।

नेपाली टोली बुधबार दक्षिण अफ्रिका पुगेको छ । टोलीले बिहीबार आज देखि (जुन १–७) सम्म त्यहाँ प्रशिक्षण गर्नेछ । यस्तै नेपालले स्कटल्याण्डसँग जुन ८ र नेदरल्याण्ड्ससँग जुन १० मा अभ्यास खेल खेल्नेछ । दुवै खेल ५० ओभरको भएपनि ओडीआई मान्यता भने हुने छैन । क्यानले दक्षिण अफ्रिकामा नेपालले अन्य खेलका लागि समेत प्रयास गर्ने जनाएको थियो । तर दुई खेल मात्र खेल्ने तालिका सार्वजनिक गरेको छ ।

दक्षिण अफ्रिकामा तयारीपछि नेपाली टोली उतैबाट जिम्बाब्वे जानेछ । विश्वकप छनोट जुन १८ देखि जुलाई ९ सम्म हुनेछ । जसमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । नेपालले विश्वकप छनोटअघि जिम्बाब्वेमा पनि दुई अभ्यास म्याच खेल्नेछ । नेपालले जुन १३ मा यूएई र जुन १५ मा ओमानसँग अभ्यास खेल खेल्नेछ । विश्वकप छनोटमा समूह ए मा रहेको नेपालले जुन १८ मै पहिलो खेल घरेलु टोली जिम्बाब्वेसँग खेल्नेछ । नेपालको समूहमा वेष्ट इन्डिज, नेदरल्याण्ड्स र अमेरिका पनि छन् ।

नेपालले जुन २० मा अमेरिका, जुन २२ मा वेष्ट इन्डिज तथा जुन २४ मा नेदरल्याण्ड्ससँग खेल्नेछ । समूह बी मा श्रीलंका, आयरल्याण्ड, स्कटल्याण्ड, यूएई र ओमान छन् । दुवै समूहको शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । त्यहाँबाट फाइनल पुग्ने शीर्ष दुई टोलीले अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बनाउनेछ ।

एकदिवसीय विश्वकप छनोटअघि दक्षिण अफ्रिकामा अन्तिम तयारी गर्ने नेपाल टिममा सन्दीप लामिछाने अनुपस्थित भएका छन् । जिम्बाब्बेमा हुने एकदिवसीय विश्वकप छनोटका लागि वातानुकूलित तयारी गर्न नेपाल टिम मंगलबार राति दक्षिण अफ्रिका गएको छ । बालिका बलात्कारको आरोपमा मुद्दा खेपिरहेका सन्दीप लामिछानेलाई अदालती प्रक्रियाका कारण दक्षिण अफ्रिका भ्रमणमा समावेश गर्न नसकेको नेपाल क्रिकेट संघ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।

प्रकाशित मिति : २०८० जेष्ठ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस