२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालमा ८१ प्रतिशत हिन्दु, क्रिश्चियन १.७६ प्रतिशत भन्दा कम

काठमाडौं । नेपालमा ८१ प्रतिशतभन्दा बढी मानिसले हिन्दु धर्म मान्ने गरेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को जाति र धर्म सम्बन्धी तथ्यांक शुक्रबार सार्वजनिक भएको छ, जसअनुसार नेपालमा १० वटा धर्म मान्ने मानिसहरुको बसोबास छ ।

जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै २ करोड ३६ लाख ७७ हजार ७४४ जना अर्थात् ८१.१९ प्रतिशतले आफ्नो धर्म हिन्दु भएको बताएका छन् ।

यस्तै २३ लाख ९३ हजार ५४९ जना अर्थात् ८.२१ प्रतिशतले बौद्ध धर्म मान्ने गरेका छन् । ५.०९ प्रतिशतले इस्लाम, ३.१७ प्रतिशतले किराँत र १.७६ प्रतिशतले क्रिश्चियन धर्म मान्ने गरेको पाइएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

हिन्दु र बौद्ध घट्दा क्रिश्चियन बढ्यो

राष्ट्रिय जनगणना – २०६८ अनुसार नेपालमा ८१.३ प्रतिशत हिन्दु थिए भने ९ प्रतिशत बौद्ध धर्म मान्नेहरु थिए । उनीहरुको संख्या थोरै घटेको पाइएको छ । जनगणना २०७८ अनुसार हिन्दु ०.११ र बौद्ध धर्मावलम्बी ०.७९ प्रतिशत घटेका छन् । इस्लाम, किराँतसँगै क्रिश्चियन धर्म मान्नेहरुको संख्या भने थोरै बढेको छ । जनगणना २०६८ अनुसार इस्लाम धर्म मान्नेहरु ४.४ प्रतिशत थिए । यो ०.६९ बढेर ५.०९ प्रतिशत पुगेको छ । किरात धर्म मान्नेहरुको संख्या ०.०७ प्रतिशत बढेको छ ।

२०६८ मा ३.१ प्रतिशत रहेको किराँत धर्मावलम्बीहरुको संख्या यो पटक ३.१७ प्रतिशत पुगेको छ । क्रिश्चियन धर्म मान्नेहरुको संख्या ०.३६ प्रतिशत बढेको छ । २०६८ मा १.४ थियो, जुन यो पटक बढेर १.७६ पुगेको छ । यस्तै प्रकृति, जैन र शिख धर्म मान्नेहरुको संख्या केही कम हुँदा बोन धर्मावलम्बीको संख्या भने थोरै थपिएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस