२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पिएसजीले आज सिजनको अन्तिम खेल खेल्दै: मेस्सी, नेइमारसहितका तीन स्टारको अन्तिम खेल आजै

PSG Neymar Messi

काठमाडौं । फ्रान्सको क्लब पिएसजीले सिजन २०२२–२३ को अन्तिम खेल आज राति खेल्दैछ । बेलैमा घरेलु लिग १ को उपाधि जितेको पिएसजीले सिजनको अन्तिम खेल आज आफ्नो घरेलु मैदानमा क्लेरमोन्ट फुटविरुद्ध खेल्न लागेको हो । यो खेल पिएसजीका लागि अन्तिम खेल हुनुका साथै लिग १ को उपाधि सेलिब्रेसन गर्ने सन्दर्भ पनि हुनेछ । पिएसजीले आफ्नो मैदान र दर्शकसामु उपाधिको खुशी मनाएको छैन ।

आज पार्क डे प्रिन्सेस रंगशालामा सिजनको अन्तिम खेल खेल्दा पिएसजीले लिग १ को उपाधिको उत्सव समेत मनाउनेछ । आजको खेल पिएसजीका लागि धेरै अर्थमा महत्त्वपूर्ण छ । पहिलो, यो सिजनको अन्तिम खेल घरेलु मैदानमा हुनेछ । दोस्रो, आजको खेल सिजनको उपाधि सेलिब्रेसन गर्ने खेल पनि हो । तेस्रो, सबैभन्दा महत्त्वपूर्ण कुरा त आजको खेल कम्तीमा ३ जना सुपरस्टार खेलाडीका लागि पिएसजीको जर्सीमा अन्तिम खेल हुनेछ ।

पिएसजीले २ दिनअघि नै घोषणा गरेको छ कि, लियोनल मेस्सीले आज क्लबको जर्सीमा अन्तिम खेल खेल्दैछन् । अर्थात उनका लागि यो पिएसजीका यो अन्तिम खेल हुनेछ । जुन ३० सँगै दुई वर्षे सम्झौता सकिन लागेका मेस्सीले आज राति अन्तिम खेल क्लबको घरेलु मैदानमा पटक–पटक आफ्नो अपमान गर्ने घरेलु समर्थक बीच खेल्दै उनीहरूबाट बिदाइ लिनेछन् ।

मेस्सी मात्रै हैन, आजको खेल डिफेन्डर सर्जियो रामोसका लागि पनि अन्तिम खेल हुनेछ । गत राति मात्रै पिएसजीले औपचारिक रूपमा यो घोषणा गरिसकेको छ कि, रामोसले आज अन्तिम खेल खेल्दै क्लब छाड्नेछन् । मेस्सी र रामोसको खेल अन्तिम हुने कुरा त क्लबले नै पुष्टि गरेको छ । क्लबले घोषणा नगरेको तर क्लब छाड्ने पक्काजस्तै रहेका ब्राजिलियन खेलाडी नेइमारका लागि पनि आजको खेल पिएसजीमा अन्तिम हुनेछ । नेइमारलाई क्लबले नै बेच्न चाहेको छ । र, उनको नाम इंग्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडसँग जोडिएको छ ।

चोटका कारण पछिल्ला दिन नेइमार खेलिरहेका छैनन् । तर, आज उनी टिमको सेलिब्रेसनमा भने उपलब्ध हुनेछन् । तसर्थ आज घरेलु मैदानमा हुने खेल पिएसजीका ३ जना प्रमुख खेलाडी मेस्सी, रामोस र नेइमारका लागि अन्तिम खेल हुनेछ । खासमा भन्नुपर्दा आज उनीहरूको बिदाइ खेल पनि हो । आजको खेल नेपाली समय अनुसार मध्यराति १२ः४५ बजेबाट सुरु हुनेछ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस