२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

स्थायी कर्मचारी हटाएर कान्छी श्रीमतीलाई जागिर

काठमाडौं । कालिकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख मीनबहादुर विष्टले स्थायी अनमीको ठाउँमा आफ्नै कान्छी श्रीमतीलाई कामकाजका लागि खटाएको पाइएको छ। कर्मचारी समायोजनका बेला शान्नीबिवेणी गाउँपालिका रोजेर सबै भन्दा पहिला आएका स्थायी अनमी निलम कुमारी सज्याललाई फाजिलमा राखेर आफ्नो कान्छी श्रीमती भावना कुमारी थापालाई अनमी दरबन्दी भएको रकु स्वास्थ्य चौकीमा पदस्थापन गरिएको रहस्य खुलेको हो।

२०७५ साल यता रकु स्वास्थ्य चौकी दरवन्दीमा कार्यरत अनमी निलम कुमारी सज्यालको ठाउँमा आफ्नो कान्छी श्रीमती थापालाई कामकाज गर्न लगाएपछि उक्त रहस्य बाहिर आएको हो। स्थानीय राजेन्द्र सुवेदीले शाखा प्रमुख विष्टले आफ्नो हात जगनाथ गरेर नियम विपरीत स्वास्थ्य चौकी प्रमुख दिर्ग बहादुर नेपालीसँग मिलेर रकु स्वास्थ्य चौकीमा पदस्थापन गरिएको पत्र लेखाएर आफ्नो श्रीमतीलाई दरवन्दीमा पदस्थापन गराएको बताउनुभयो । बिष्टकी श्रीमती थापा पनि स्थायी हुनुहुन्छ । तर दरबन्दी नभएकाले फाजिलमा सामुदायिक स्वास्थ्य इकाईमा काम गदै आउनुभएको थियो ।

मिति २०७८ साल वैशाख २३ गते पत्र लेख्दै रकु स्वास्थ्य चौकी प्रमुख दिर्गवहादुर नेपालीले वैशाख २२ गते गाउँ कार्यपालिकाको निर्णय अनुसार भन्दै रकु स्वास्थ्य चौकीमा रिक्त रहेको अनमी पदमा पदस्थापन गरिएकाले निज मिति २०७८ वैशाख २३ गते वाट हाजिर भई कामकाज गर्नु भनिएको छ। तर अनमी सज्याल यो समयमा स्वास्थ्य चौकी रुकुमा कार्यरत रहेको हाजिर रजिष्टरले पनि पुष्टि गरेको छ।

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस