२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

राम्रो शिक्षक नदिएको रिसमा सर्लाहीको चन्द्रनगरका विद्यार्थीद्वारा गाउँपालिकामा आगजनी, अध्यक्षको घरमा ढुंगामुढा प्रहार

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा विद्यार्थीहरूले गाउँपालिका कार्यालयमा आगजनी गर्नुका साथै गाउँपालिका अध्यक्षको घरमाथि ढुंगामुढा गरेका छन्। शिक्षक नियुक्तिका साथै अन्य आन्तरिक विवाद समाधानको माग गर्दै चन्द्रनगर पोलिटेक्निकल इन्स्टिच्युटका विद्यार्थीहरूले आगजनी र ढुंगामुढा गरेको बताइएको छ।

आक्रोशित विद्यार्थीहरूले चन्द्रनगर गाउँपालिकामा ढुङ्गामुढा र आगजनी गर्नुका साथै गाउँपालिका अध्यक्ष राजकुमार महतोको निजी निवासमा ढुङ्गामुढा गरेका हुन्। चन्द्रनगर गाउँपालिका २ मा रहेको इन्स्टिच्युटका विद्यार्थीहरूले कार्यपालिकाको कार्यालयको सार्वजनिक सम्पत्तिमाथि ढुङ्गामुढा , आगजनी गरी क्षति पुर्‍याएको तथा कार्यालय सहयोगीमाथि हातपात गरी कार्यालयभित्र थुनी ताल्चा लगाएको भन्दै गाउँपालिकाले कारबाहीको माग गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ।

यसै गरी चन्द्रनगर २ बबरगंजमा रहेको गाउँपालिका अध्यक्ष महतोको निजी निवासमा समेत तोडफोड भएको छ। इन्स्टिच्युटका विद्यार्थीहरूले नाराबाजी गर्दै अध्यक्ष महतोको घरमा ढुङ्गामुढा गरेको अध्यक्ष महतोका स्वकीय सचिव उमेश साहले जानकारी दिनुभयो ।

२०७६ मा स्थापना भएको चन्द्रनगर पोलिटेक्निक इन्स्टिच्युटमा पूर्ण समयको लागि शिक्षक तथा प्रिन्सिपलको नियुक्ति तथा व्यवस्थापन नभएको, प्रयोगात्मक ल्याब तथा पुस्तकालय लगायतका कुनै पनि आवश्यक पूर्वाधार नभएको अवस्था र स्थापनादेखि आर्थिक वर्ष २०७८–७९ सम्मको लेखा परीक्षण समेत नगराएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

गत वर्षको स्थानीय तहको निर्वाचनमा गाउँपालिकाको अध्यक्षमा राजकुमार महतो निर्वाचित भए लगतै इन्स्टिच्युटमा बैठक बसाई विभिन्न चरणको विद्यार्थी, शिक्षक, संचालक समितिको पदाधिकारी, कर्मचारीहरूको सहभागितामा राम्रोसँग संचालन तथा व्यवस्थापन गर्न गहन छलफल गरी कार्य समूह नै निर्माण गरी इन्स्टिच्युटको वर्तमान अवस्था, विद्यार्थीको उचितम अध्ययन अध्यापनको लागि आवश्यक पूर्वाधारको व्यवस्था तथा इन्स्टिच्युटलाई व्यवस्थित रूपले संचालन गर्न चाहिने आवश्यक जनशक्ति, सामाग्री र पूर्वाधारको अध्ययन प्रतिवेदन बनाई कार्यपालिकाको कार्यालयमा पेस गर्ने निर्णय गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

 

 

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस