२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बजेट बनाउँदा अनधिकृत व्यक्तिको संलग्नता भए रास्वपाले विरोध गर्छ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले अर्थमन्त्रीले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको सत्य भए आफ्नो पार्टीले विरोध गर्ने बताउनुभएको छ । सोमवार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको पोस्ट बजेट– अ होलिस्टिक डिस्क्लोजर विषयक अन्तक्रियामा डा. वाग्लले यस्तो बताउनुभएको हो । उहाँले चालु आर्थिक वर्षको जस्तै बजेटमा अनधिकृत व्यक्ति संलग्न भएको विषय सत्य नहोस् भन्ने अपेक्षा रहेको पनि बताउनुभयो । उहाँले करका दरमा नीतिगत भ्रष्टाचार हुन नहुने बताउनुभयो ।

सांसद वाग्लेले यदि करका दरमा गएको वर्षको जस्तो भएको सत्य भए यो विषयलाई संसदमा गम्भीररूपमा उठाउने बताउनुभयो । उहाँले अर्थमन्त्रीले करका विषयमा धेरै कुरा नबोले पनि करका विषयमा धेरै विवादहरू आएको उल्लेख गर्नुभयो । वाग्लेले सरकारले विद्युतीय गाडीमा लिने अस्थिर करका दरले समस्या बनाएको बताउनुभयो । उहाँले सरकारले विद्युतीय गाडीमा स्थिर करका दर कायम गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । विद्युतीय गाडीका व्यवसायीलाई कति कर्मचारी र चार्जिङ स्टेशन राख्ने भन्ने अलमल भएको उहाँको भनाइ छ । सरकारले कुनै एउटा पक्षलाई फाइदा पुग्ने गरी करका दर कायम गर्नु दुर्भाग्य भएको उहाँले बताउनुभयो ।

सांसद वाग्लेले सरकारले ल्याउने बजेटमा आयको अनुमान, व्ययको अनुमान केही पनि नमिल्ने गरेको बताउनुभयो । उहाँले सरकारले बजेटमा हावादारी रूपमा अङ्क राख्ने गरेको आरोप पनि लगाउनुभयो । उहाँले बजेटमा भनिएका कुराहरू अङ्कमा नमिल्ने भएकाले नागरिकले पत्याउने अवस्था नरहेको बताउनुभयो । उहाँले सरकारको वैदेशिक अनुदान र ऋण अपेक्षाअनुसार नउठ्ने दाबी पनि गर्नुभयो ।

वाग्लेले हरेक वर्ष बजेट घटाउनुपर्ने अवस्था बनेका कारण बजेटमाथि विश्वसनीयता कम हुँदै गएको बताउनुभयो । उहाँले अहिले सरकारले तिर्ने ब्याज बढ्दै जाँदा त्यसलाई राजस्वले धान्न नसक्ने बताउनुभयो । उहाँले वैदेशिक ऋणले नपुग्ने भएकाले ऋणको सावाँ ब्याज तिर्न आन्तरिक ऋण ऊठाउनुपर्ने अवस्था आएको बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस