२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विद्युतीय सवारीसाधनको भन्सार पूर्ण रूपमा निःशुल्क गर्नुपर्छ : अध्यक्ष राजेन्द्र लिङदेन

Rajendra Prasad Lingden

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले विद्युतीय सवारीसाधनको भन्सार पूर्ण रूपमा निःशुल्क गर्नुपर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले आर्थिक वर्ष २०८०–८१ को बजेटमा राजस्व असुलीको लक्ष्य प्राप्ति हुन नसक्ने देखिएको पनि बताउनुभयो । बजेट अनुमान, अनुदान र ऋणमा आधारित रहेको उहाँले टिप्पणी गर्नुभयो । करको दर र दायरा जथाभावी रूपमा बढाउने काम गरिएको उनको भनाइ थियो ।

मल कारखाना खोल्ने र हाइड्रोजन उत्पादन गर्ने विषयलाई प्राथमिकता नदिएर विगतदेखिका प्रधानमन्त्रीहरूले भारतलाई नदीनाला बेच्न मात्र ध्यान दिएको जिकिर उहाँले गर्नुभयो ।

“मल कारखानको कुरा पनि हरायो । हाइड्रोजन उत्पादनको कुरा पनि हरायो । हामी खालि बिजुली कसरी भारतलाई जिम्मा लगाउने, त्यो पनि उत्पादन गरेको बिजुली जिम्मा लगाउने होइन, खोलानाला नै लाउने । शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभएको बेला पश्चिम सेती के–के बुझाउनुभयो,” उहाँले भन्नुभयो, “अहिले फुकोट कर्णाली, अरुण तल्लो । हामीले भारतलाई विद्युत् उत्पादन गर्न यी खोलाहरू जिम्मा दियौँ, यो सम्झौता गर्‍यौँ भन्नेमा जहिले पनि हामी गौरव गर्छौँ । हामी आफैँ उत्पादन गर्ने भयौँ, हाम्रै पैसाले गर्ने भयौँ, वैदेशिक रोजगारमा भएका युवाहरूको पैसाले गर्ने भयौँ, हाम्रो गैरआवासीय नेपालीहरूबाट गर्ने भयौँ र त्यसतर्फ विकल्प खोज्यौँ भन्नेतर्फ हाम्रो ध्यान गएन ।

भारतले लगानी गरेन भने हाम्रोमा बिजुली उत्पादन नै हुँदैन, उत्पादन भयो भने पनि खर्च गर्ने ठाउँ हुँदैन भन्छौँ । हामी किन मल कारखाना स्थापना गर्दैनौँ ? किन हाइड्रोजनतर्फ जाने आँट गर्दैनौँ ”। उहाँले वंशजका आधारमा नेपाली नागरिकता पाउनुपर्छ भन्ने पक्षमा राप्रपा रहेको स्पष्ट पार्नुभयो । विदेशीले नागरिकता लिएको विषयमा भने छानबिन हुनुपर्ने उहाँको भनाइ थियो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस